एमालेको महाधिवेशनमा एक सय वटा भोटिङ मेसिन राखिने « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


एमालेको महाधिवेशनमा एक सय वटा भोटिङ मेसिन राखिने


0
Shares

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने निर्वाचनको मतदानका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)को प्रयोग गर्ने भएको छ ।

महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदैछ ।

एक जना प्रतिनिधिलाई मतदान गर्नका लागि कम्तीमा आधा घण्टा लाग्ने अनुमान गरिएको छ । त्यसका लागि सम्बन्धित कम्पनीलाई तयारीका लागि लाग्न भनिएको छ । नवौं महाधिवेशनमा एभिएमको प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि नेतृत्वको चुनावमा मतपत्रकै व्यवस्था गरिएको थियो । निर्वाचनको परिणाम आउनक लागि एक साता लागेको थियो ।

दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिको सहभागी हुनेछन् । गत महिना गोदावरीमा भएको विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।

एमालेले १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहाको हात्तिसारबाट नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुनेछ ।