
दीपक श्रेष्ठ
काठमाडौं । संसारमा मानवअधिकार मात्र हैन, जनावर अधिकारका विषयमा पनि बहस पैरवी जोडदारसँग हुने गरेको छ । गाईगोठ, घरगोठदेखि शहरका महलमा समेत कुकुरलाई पारिवारिक सदस्यका रूपमा ग्रहण गर्न थालिसकिएको छ ।
मानिससँग अन्योन्याश्रित सम्बन्ध रहेको कुकुरको व्यावसायिक पालनका लागि केनल क्लव पनि त्यतिकै खुलेका छन् । सडकमा अलपत्र ककुरको उपचार र पालनपोषणको दायित्व लिनेहरू पनि बढेका छन् । धार्मिक होस् या सांस्कृतिक, वैज्ञानिक होस् या अपराध अनुसन्धान, हरेक विषयमा कुकुरको उपयोगिता संसारभरि बढ्दो छ ।
प्राणीमध्ये घ्राण शक्तिमा अद्भूत क्षमता पाएको यो प्राणीको लोकप्रियता मानव सभ्यतासँगै जोडिएको छ । यसको सामाजिक र धार्मिक उपयोगितालाई नेपाली समाजले उच्च मर्यादामा राखेको छ । त्यसैले त प्राणीमध्येमा कुकुर सबैभन्दा इमान्दार प्राणी मानिन्छ । हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादार हुने गर्दछ ।
कुकुरलाई भैरवको बाहन र यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, यसले प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिने गर्दछ । समाजमा कुकुर मानिसको सबैभन्दा नजिक रहने जनावर भएको हुँदा नेपालमा विशेषगरी ज्येष्ठ नागरिक र बालबच्चाले साथीका रूपमा लिन्छन् ।
तिहार यसैपनि प्राणी पूजासँग जोडिएको चाड हो । पशु संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था स्नेहाज केयरले वृहद् कुकुर पूजा आयोजना ग¥यो । पूजाका प्रमुख अतिथि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पशु उद्धारका लागि महानगरपालिकाको तर्फबाट पशु एम्बुलेन्स दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पशुलाई वर्षमा एकपटक मात्र हैन, सधैं माया गर्न सके मात्र उसप्रति न्याय हुने पशुअधिकारकर्मी तथा स्नेहाज केयरकी सञ्चालन स्नेहा श्रेष्ठ बताउनुहुन्छ । कुकुर तिहारको दिन मालाको चाङ र अन्य दिन दुर्व्यवहार र आक्रमण गर्ने प्रवृत्ति बढेकोमा उहाँ दुःख व्यक्त गर्नुहुन्छ ।
कुकुर तिहार प्राणीप्रति प्रेम बढाउने साइत पनि हो । मान्छे आफैं पनि एउटा प्राणी भएकाले यसलाई प्रेम बढाउने र उसको बफादारीका लागि कृतज्ञ हुने चाडका रूपमा विस्तार गरियो भने सुनमाथि सुगन्ध हुने थियो कि ?
प्रतिक्रिया दिनुहोस्