Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


होमस्टेका कारण प्रख्यात बन्दै धनकुटाको नाम्जे गाउँ


0
Shares

सुरेन्द्र भण्डारी

झापा । धरान हुँदै भेडेटार उक्लने नागबेली मोटरबाटो छिचोल्दै पुग्न सकीने धनकुटाको नाम्जेको आफ्नै विशेषता छ । नाम्जे गाँउ पुग्ने जो कोही यहाँको हराभरासँग आफ्नो खुशी साट्न लालयीत देखिन्छन् । पछिल्लो समय धनकुटाको यो नाम्जेले पर्यटकीय दृष्टिकोणले प्रख्याती कमाउँदै गएको छ ।

नाम्जे होमस्टेका कारण प्रख्यात बन्दै गई रहेको हो । यो होमस्टे क्षेत्र अहिले आन्तरिक पर्यटकका कारण भरिभराउ छ भने खेतबारी हरियालीमय देखिन्छ । ९७ प्रतिशत मगर जातिको बसोवास रहेको यस ठाउँमा मगरहरुको छुट्टै भाषा,संस्कृति र परम्पराले जो कोहीलाई मन्त्र मुग्ध बनाउछ ।

मगर जातिको मौलिक संस्कृतिको संरक्षण र संम्वद्र्धन गर्दै यहाँ उत्पादित वस्तुहरूको उपयोग गर्न होमस्टे सञ्चालन गरिएसंगै यहाँको मौलिक परम्परा र खान्कीकै लागि पर्यटकहरु नाम्जे पुग्ने गरेका छन् । प्राकृतिक तथा सास्कृतिक रुपमा संसारका सुन्दर १२ गन्तब्यको सूचिमा परेको यो सागुरीगढी गाउँपालिका ६मा रहेको नाम्जे अहिले आन्तरिक र बाह्य पर्यटकको रोजाई बनेको आन्तरिक पर्यटक केशव चापागाई बताउँछन् ।

नाम्जेमा पुग्ने जो केहीलाई मौलिक सांस्कृतिक नाच हुर्रा सहित स्वागत गरिन्छ भने आएका पाहुनालाई स्थानीय परिकार मात्रै खुवाउने चलन छ । उसिनेको आलु, स्कुसको जरा र त्यसकै मुन्टाको तरकारी प्रख्यात छ । त्यस्तै, मकैको परिकार, लोकल कोदाको ढिडो, कोदो कै रोटी , सिस्नुको तरकारी, भुटेका मकैपनि यहाँको आकर्षण हो । नाम्जे आएका पर्यटकले यहाँ उत्पादित सागसब्जी र फलफूल कोसेलीका रुपमा लाने गरेसंगै यहाँ रहेका मगर समुदायको जीवन स्तरमा समेत आमूल परिर्वतन आएको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार राना मगर बताउँनुहुन्छ ।

बाह्रै मास चिसो भाइरहने भेडेटार प्रदेश नम्वर १ मा पर्ने पर्यटकीय स्थलहरु मध्येको एक हो । धरान बजारदेखि १६ किलोमिटरको दुरीमा पर्ने भेडेटारलाई पहाडी जिल्लाको प्रवेशद्वाराका रुपमा समेत लिइन्छ । यहाँ आउने पर्यटकहरुको गन्तव्यस्थल भनेकै नाम्जे सहित बौद्धबिहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडावरिपरि रहेका टावर, नाम्जे डाँडाबाट तराईका समथल भू–भागको अवलोकन गर्नै दृश्य भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जीतेन्द्र रुम्जाली राईले बताउनुभयो । सागुरीगढी गाउँपालिकाको केन्द्रका रुपमा रहेको भेडेटार र नाम्जेको पर्यटन क्षेत्रको थप विकासका लागि पिकनिक स्पर्ट संगै विभिन्न जिल्ला पुग्ने पदमार्ग र साइक्लिङ रुढ बनाउन सके यहाँको पर्यटन क्षेत्रले फड्को मार्ने निश्चित छ ।