२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


युक्रेनी विमान भूलवश खसालिएको इरानी सेनाद्वारा स्वीकार


0
Shares

काठमाडौं, पुस २६ । इरानको सेनाले भूलवश युक्रेनी ‘बोइङ ७३७’ विमान खसालिएको शनिबार स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

विज्ञप्ति जारी गरी इरानी सेनाले मानवीय त्रुटिका कारण इरानको रिभोलुसनरी गार्ड रहेको संवेदनशील क्षेत्रनजिक उडेको विमान खसालिएको जनाएको हो ।

मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको भन्दै विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

इरानका राष्ट्रपति हसन रूहानीले घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भन्दै घटनामा संलग्नलाई कारबाही गर्न अनुसन्धान भइरहेको बताएका छन् ।

दुर्घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

यसअघि, इरानले तेहराननजिक भएको उक्त दुर्घटना आफ्नो क्षेप्यास्त्र प्रहारका कारण खसालेको अस्वीकार गरेको थियो ।

तर, सम्भवत त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग रहेको अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबाबमा परेको थियो ।

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ ।

इरानले इराकस्थित अमेरिकी सैन्य आधारशिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घन्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।

तेहरानबाट युक्रेनको राजधानी कियभ हुँदै टोरन्टोका लागि उडेको विमान दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले सुरुमा इन्जिनमा समस्या देखिएको जनाएको थियो । (एजेन्सी)