
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा द्वीपक्षीय भेटवार्ता भएका छ ।
ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन (कोप–२६) मा दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हो ।
भेटमा नेपालका तर्फबाट बनमन्त्री रामसहाय यादव, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए भने भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर भेटमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाइ खुशी लागेको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जनाउनुभएको छ । ‘कोप २६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुशी लागेको छ, हामीले शेयर गरिरहेको हिमाली क्षेत्र जुन विशेष रुपमा जोखिममा छ त्यसको भविष्यका लागि दिगो विकास अपरिहार्य छ’, उहाँले लेख्नुभएको छ ।
जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठीक ढङ्गले उठाउनुभएको भन्दै उहाँको प्रशंसा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्