२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निरन्तर हिमपात, यातायात अवरुद्ध


0
Shares

-टेकराज अवस्थी/ईमेज

डडेल्धुरा । हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

बढ्दो हिमपातले सडक अवरुद्ध भए पनि सडक सफा गर्ने प्रभावकारी व्यवस्था हुन नसक्दा यात्रुहरु हैरान भएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्गमध्येको भीमदत्त राजमार्ग पछिल्लो समय हिमपातका कारण लामो समयसम्म अवरुद्ध हुने गरेको छ ।

राजमार्गका विभिन्न भागमा हिउँ जम्दा र पहिरो झर्दा यातायात सञ्चालनमा जोखिममा बढ्दै गइरहेको छ ।

वर्षेनी हिमपात हुने यी राजमार्गमा डोजर तथा स्काइभेटको प्रयोगबाट तत्काल बाटो त खुलाइन्छ तर सफा गर्दा कालोपत्रे नै उप्किने भएकाले सडकको गुणस्तर पनि खस्किँदै गइरहेको छ ।

भीमदत्त राजमार्गअन्र्तगत गैरा बजारदेखि भात्काँडासम्म, दशरथचन्द राजमार्गको अनारखोली–खोडपे,बझाङ्गको श्रीभावर क्षेत्र, बैतडीको सतबाँझदेखि जिल्ला सदरमुकामसम्मका स्थानमा अत्याधिक हिमपात हुने भए पनि सडक सफा गर्ने एउटा पनि रब्बरको पिष्टनबुली मसिन राखिएको छैन ।

पिष्टनबुली मसिन नहुँदा सडक गुणस्तरमा क्षति पुग्नुका साथै दुर्घटनाको संभावना बढदै गएको छ ।

हिमपातमा पर्यटक लोभ्याउने भीमदत्त राजमार्गको विभिन्न क्षेत्रमा मेसिनबाट हिउँ सफा गरिदिए अवरुद्ध बाटो छिटो खुल्ने र राजमार्ग व्यवस्थित पनि हुने आन्तरिक पर्यटकको भनाइ छ ।

हिमपातको बाटो खुलाउन तथा राजमार्गको क्षतिलाई कम गर्न तीन तहका सरकार र अन्य सरोकारवाला निकायले खासै तदारुकताका साथ काम नसकेकोप्रति सर्वत्र गुनासो देखिन्छ ।