कम्युनिष्ट नेताकाे अभिव्यक्तिमा प्रतिशाेधकाे राँकाे « Image Khabar


कम्युनिष्ट नेताकाे अभिव्यक्तिमा प्रतिशाेधकाे राँकाे

शत्रु तोक्नैपर्ने दस्तावेजले बोलीमा लगाम नलागेको समाजशास्त्रीको भनाइ


खिलनाथ ताजपुरिया
काठमाडौं । सहनशीलता, धैर्यता र क्षमाशीलता असल मानवका पहिचान हुन् । अझ राजनीतिमा लागेकाहरूले त यसलाई भुल्नै हुँदैन ।

केहीमहिना यता नेपालका तीनजना प्रतिस्पर्धी पूर्वप्रधानमन्त्रीहरूको दैनिकजसोको अभिव्यक्ति सुन्ने हो भने निराशा नै पैदा गर्ने खालका छन् । उनीहरूका अभिव्यक्तिमा प्रतिशोधको राँको बलेको हुन्छ ।

देश र जनतालाई सही बाटोमा डोर्‍याउनुपर्ने राजनीतिक दलका केही शीर्ष नेताहरूको भद्दा र प्रतिशोधी अभिव्यक्तिले शिष्टता, मर्यादा सामाजिक मनोविज्ञानमै नकारात्मक प्रभाव परिरहेकोमा दुईमत छैन । सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु आजकल केही नेताहरूको दैनिकी बनेको छ ।

शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्र यतिबेला छताछुल्ल अवस्थामा छ । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्षबीचको आरोप–प्रत्यारोप राजनीतिक कटाक्षमा मात्र सीमित छैन ।

उहाँहरूका अभिव्यक्ति सुन्दा एक–अर्कालाई भित्तामै पुर्‍याउन खोजेको भान हुन्छ । गत पौष ५ अघिसम्म सत्तामा हुँदा मायापिरती र प्रशंसा गरेर नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमा अहिले गालीको मात्रा बढी हुन्छ ।

समाजशास्त्री दिपेश घिमिरे, नेताहरुको बानी, व्यवहार र बोलीले समाजमा नकारात्मक असर पार्नुका साथै नयाँ पुस्तालाई पनि भ्रममा पारिरहेको बताउनुहुन्छ । नेताहरुले असहिष्णु बोलीले समाजलाई सही दिशानिर्देश गर्न नसक्ने उहाँको भनाइ छ ।

‘कम्युनिष्टहरुको दस्तावेजमा प्रधान शत्रु भनेर तोक्नैपर्ने प्रावधान हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘कम्युनिष्ट राजनीतिकर्मीहरू शत्रुविना राजनीति नहुने किसिमको पाठ सिकेर आएका कारणले बोलीमा अशिष्ट, असहिष्णु र अराजकता निम्तिएको हो ।’

शीर्ष नेताहरूको व्यक्तित्व टकराव हेर्दा आगामी निर्वाचनमा एकले अर्कोलाई कमजोर बनाउने रणनीति बनाएको देखिन्छ ।

एक-अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?