४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


टिपरले किचेर युवकको ‘हत्या’, ढल्केबर दिनभर तनावग्रस्त, २५ सेल अश्रुग्यास प्रहार


0
Shares

जनकपुरधाम, पुस २५ । धनुषाको मिथिला नगरपालिकामा एक युवकको टिपरले किचेर मृत्यु भएको घटनालाई लिएर ढल्केबर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ ।

‘मर्निङ वाक’मा किच्यो

मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे ४ बजेतिर ‘मर्निङ वाक’मा गएको बेला ना७ख ६४१३ नम्बरको टिपरले औरही खोलानजिक किचेको थियो ।

हत्याको आरोप

भारतमा इन्जिनियरिङ पढ्दै गरेका महतोले क्रसर व्यवसायीहरुबाट धनुषाका नदीहरुमा भइरहेको जथाभावी उत्खनन्को विरोध गर्दै आएका थिए ।

महतोलाई क्रसर सन्चालकहरुबाटै टिपरले किचेर हत्या गरिएको हुनसक्ने आरोप स्थानीय वासिन्दा र प्रहरीलेसमेत गरेका छन् ।

२५ सेल अश्रुग्यास प्रहार

हत्याको विरोधका कारण शुक्रबार दिनभर ढल्केबर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले २५ सेल अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

घाइते

झडपमा परी इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत् प्रहरीजवान सचेन्द्रकुमार यादव घाइते भएका छन् ।

बल प्रयोग गरेर राजमार्ग खुलाइयो

महतो हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्ग प्रहरीले बल प्रयोग गरेर साँझदेखि सन्चालनमा ल्याएको छ ।

टिपर र चालक नियन्त्रणमा

महतोको शव जनकपुर अस्पतालमा राखिएको छ ।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।