प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा, ६८ दिनमै गयो पद « Image Khabar


प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा, ६८ दिनमै गयो पद


१५ कार्तिक २०७८, सोमबार १६:१०


विराटनगर, कात्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका पत्र प्रदेश प्रमुखसमक्ष बुझाउनुभएको छ ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएका आचार्यले त्यसलगत्तै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई भेटेर राजीनामा पत्र बुझाउनुभएको हो ।

आचार्यको राजीनामासँगै नेकपा एमाले देशैभर प्रतिपक्षी हैसियतमा पुगेको छ । संघमा दुई तिहाई शक्तिको सरकार तथा प्रदेशमा चार वटामा सरकार बनाएको एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षीको हैसियतमा पुगेको हो ।

यसअघि आचार्यले प्रदेश सभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुपूर्व सभामा सम्बोधन गर्दै अंकगणितले मेल नखाएकाले आफूले पदबाट राजीनामा गरेको घोषणा गर्नुभएको थियो ।

गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्री बन्नुभएका आचार्यले विश्वासको मत नै नपाउने भएपछि ६८ दिनको अल्पकालमै पद गुमाउनु परेको हो ।

नेकपा एमालेमा माधव नेपाल समूहमा रहे पनि नेपालले नयाँ दल बनाउने भएपछि कित्ता फेर्दै ओलीलाई साथ दिएपछि उहाँ मुख्यमन्त्री बन्न पाउनुभएको थियो ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी उहाँविरुद्ध उभिएपछि उहाँ पद त्याग्न बाध्य हुनपरेको हो । अब एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउन गठबन्धन दलले तयारी गरेका छन् ।