३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


‘चुनाव छेउछाउ आएपछि सत्ताबाहिर बस्ने, फेरि साढे चार वर्ष चलाएपछि अर्काले चलाए पनि हुन्छ’


13
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको छेउछाउमा पुगेपछि सरकार बाहिर बस्नु उचित हुने बताउनुभएको छ ।

पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आउन लागेपछि सरकारबाहिर बसेर संगठनको काममा लाग्दा पार्टीलाई फाइदा हुने बताउनुभयो ।

सरकारबाट बाहिर निस्केपछि संगठनलाई मजबुद बनाउन आफूहरुले समय पाएको उहाँको भनाइ छ ।

‘चुनावको छेउछाउ पुगेपछि सरकारबाहिर बस्ने र संगठन बनाउने अनि पाँच वर्षका लागि सरकारमा जाने,’ उहाँले भन्नुभयो, ‘फेरि साढे चार वर्ष सरकार चलाएपछि अर्काले चलाए पनि हुन्छ, हामीलाई केही छैन ।’

अध्यक्ष ओलीले सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्र र स्थानीय तहमा एमालेले जित्नुपर्ने बताउनुभएको छ । एमाले अहिले भएका पार्टीहरुमध्ये सबैभन्दा योग्य रहेको दावी गर्दै उहाँले सिन्धुपाल्चोकका सम्पूर्ण सिट एमालेलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘अघि जिल्ला अध्यक्षले हामीले दुई तिहाइ जित्छौं भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘हामीलाई भोट नदिएर कसलाई दिने ?, हामीबाहेक अरु को योग्य छ ?’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा संसदीय प्रणालीको कलंक भएको गम्भीर आरोप लगाउँदै उहाँलाई संसदमा फेरि पाइलो टेक्न दिन नहुने बताउनुभयो । पदीय गरिमालाई तिलाञ्जली दिएर प्रचण्डको कार्यकर्ता बनेको भन्दै उहाँले सापकोटो चर्को आलोचना गर्नुभयो ।

एमाले फुटाउन अहम् भूमिका खेलेको भन्दै ओलीले पार्टीको निर्देशनमा पदीय हैसियतको पालना नगर्ने मानिस कदापी संसद छिर्न नहुने बताउनुभयो ।

सम्बोधनकै क्रममा ओलीले माधवकुमार नेपालहरु बाहिरिएसँगै पार्टीमा एकता भएको बताउनुभयो । पार्टीका हरेक गतिविधिमा बाधा र अड्चन गर्नेहरु गएपछि पार्टी एक भएको उहाँको भनाइ छ ।