कृत्रिमताले सहज बन्दै जीवन « Image Khabar


कृत्रिमताले सहज बन्दै जीवन


१२ कार्तिक २०७८, शुक्रबार १८:४०


प्रज्ञा तिमल्सीना
काठमाडौं । अर्घाखाँची घर भएका सुलभ पौडेलको ३ वर्षको उमेरमा पोलियो रोगले एउटा गोडा राम्रोसँग चल्न छाड्यो । परिवारले आफ्नो औकातअनुसार उपचारका सबै उपाय गर्‍यो । तर बीसको उन्नाइस भएन । अनि त जीवनको लय नै फेरियो ।

अपाङ्गता भएपछि घरपरिवार, साथीभाइ र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । अप्रिय शब्दका वाण झेल्नुपर्‍यो । तर, उनको हिम्मत कमजोर भएन । पढाईमा निकै चलाख उनले १७ वर्षको उमेरमा कृत्रिम खुट्टा बनाउने तालिमको अनपेक्षित अवसर पाए ।

छात्रवृत्तिमा पाएको अवसरको उपयोग गर्न सुलभ भारत गए । कृत्रिम खुट्टाको भरमा नै सहज रूपमा जिउन सफल उनी हाल आफू जस्तै अपाङ्ता भएका व्यक्तिहरूको आधार बनेका छन् । आधा दशकदेखि उनको जप, तप भनेकै कृत्रिम खुट्टाको निर्माण हो ।

सुलभ जस्तै १२ वर्षदेखि कृत्रिम हात खुट्टा बनाउने काममा सक्रिय अर्का पात्र हुन्– रामबहादुर थापा । राष्ट्रिय अपाङ्ग कोष अन्तर्गतको पुनर्स्थापना केन्द्रमा कार्यरत थापाको ८ वर्षको उमेरमा लडेर एउटा गोडा छोटो भएको थियो । कृत्रिम गोडाको भरमा नै जीवनयापन गरिरहेका थापा पनि कृत्रिम खुट्टा बनाउने सीप सिक्न कम्बोडिया पुगे ।

अहिले रामबहादुर थापा अरुको जीवन सहज बनाउने शिल्पी बनेका छन् । आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।

भूकम्पका कारण दुवै खुट्टा गुमाएका दैलेखका २४ वर्षीय रमेश खत्रीलाई पनि कृत्रिम खुट्टाले जीवनयापन गर्न सहज भएको छ । कृत्रिम खुट्टाकै भरमा सगरमाथा आधार शिविरसम्म पुगेका उनी त्यसकै सहारामा १२ कक्षासम्म अध्ययन गर्न सफल भएका छन् ।

विभिन्न कारणले शारीरिक रूपमा अपाङ्ता भएका व्यक्तिहरूलाई पुनर्स्थापना गराउन कृत्रिम हात खुट्टा बलियो आधार बनेको छ । जनजीवन सहज बनाउन प्रयोग गरिने यस्ता सामाग्रीको मूल्य धान्न नसकिने छ । ५० हजार देखि ५० लाख सम्म पर्ने भएकाले धेरै व्यक्ति कृत्रिम हातगोडाको पहुँचमा समेत पुग्न सकेका छैनन् ।

सरकारी स्तरबाट सञ्चालित राष्ट्रिय अपाङ्ग कोषका रमेश लामा रकम अभावका कारण अपाङ्गता भएका सबै व्यक्तिको पहुँचमा पुग्न नसकिएको स्वीकार्नुहुन्छ । आवश्यकताअनुसार गाउँटोलमा कृत्रिम हातगोडा पुर्‍याउन आफूहरू निरन्तर लागिरहेको र सहयोग रकम संकलन गरिरहेको उहाँ बताउनुहुन्छ ।

कृत्रिम हातगोडा बनाउने सीप सिक्न नेपालमा सम्भव छैन । यस्ता साम्रागी बनाउने जनशक्ति नेपालमा ३२ जना मात्र छन् । यसमध्ये केही अपाङ्गता भएका व्यक्ति पनि छन् । शारीरिक अवस्था कमजोर भए पनि मन फराकिलो भएका यस्ता सतपात्रको समाजमा कदर हुन जरुरी छ ।