एक घर, एक धारा अभियानले पूर्णता पायो (भिडियो) • Image Khabar Image Khabar


एक घर, एक धारा अभियानले पूर्णता पायो (भिडियो)


Imagekhabar
१ असार २०७५, शुक्रबार ००:२२

एक घर, एक धारा अभियानले पूर्णता पायो (भिडियो)

ध्रुवसागर शर्मा

म्याग्दी, असार १ । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा दुर्दीमा एक घर, एक धारा अभियानले पूर्णता पाएको छ ।

वर्षौंदेखि पानीको समस्या झेल्दै आएका स्थानीयले घरमै पानीको धारो पाएपछि उत्साहित बनेका छन् ।

स्थानीयले केही महिना अघिसम्म खानेपानीको ठूलो समस्या भोग्दै आएका थिए । घरबाट टाढाका कुवा पोखरीमा रहेको पानी गाग्री र भाडाँकुडामा बोकेरै पानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।

बिहान उठ्नेबित्तिकै दुई–तीनघण्टा पानी संकलनमै खर्च हुन्थ्यो त्यतिमात्र होइन, दैनिक टाढाबाट पानी बोक्दा साँच्चिकै कठिन पनि थियो । तर गत चैतदेखि भने यहाँका स्थानीयको घरघरमा पानी खस्न थालेको छ । जसका कारण स्थानीयले ठूलो राहतको महसुस गरेकामात्रै छैनन्, उनीहरु निकै उत्साहित छन् ।

८५ लाख २६ हजारको लागतमा भित्रिवन खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै ‘एक घर  एक धारा’ अभियान सफल बनेको हो  । जसमा आयोजनामार्फत् ६६ लाख २६ हजार र १९ लाख बराबर जनश्रमदानबाट आयोजना निर्माण भएको हो । आयोजनाबाट ६८ घर, सामुदायिक भवन, मन्दिर र विद्यालयलाई ७१ धारा निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका सचिव भक्तबहादुर रोकाय बताउँछन् ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्