Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


चिसोका कारण भीमदत्त र घोराही नगरका विद्यालय बन्द


0
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिकामा दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । अत्याधिक चिसोका कारण बालबालिकाको पठनपाठनमा समस्या देखिएपछि नगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै चिसोले विद्यार्थीलाई आवतजावत तथा पठनपाठनमा समस्या देखिएको भन्दै विद्यार्थीको स्वास्थ्यलाई आज र भोलि विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

सोमबार रातीबाट भएको वर्षासँगैको शीतलहरका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मर्कामा परेका छन् ।

यसअघि पनि अत्याधिक चिसो बढेपछि नगरपालिकाको बैठकले सञ्चित बिदाबाट घटाउने गरी पुस ३ र ४ गते दुई दिनका लागि बिदा दिएको थियो ।

यस्तै अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार र शुक्रवार  विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ ।