
भीष्मराज ओझा (रासस)
काठमाडौं, पुस २२ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उनीहरुले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका हुन् ।
साथै, जिल्ला सभापतिहरुले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका नेतामा वैमनस्य नहुुनुपर्नेमा जोड दिएको दैलेखका सभापति कृष्णकुमार बिसीले जानकारी दिए ।
संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल समूहले सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो ।
बैठकमा मंगलबार केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र डा. शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिकाबारेमा आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय समिति बैठकबाट महासमिति भेलाले गरेको निर्णय लत्याउने काम भएको, निलम्बन गरिएका विधानका दफा फुकुवा गर्नुपर्ने र बहुमतका आधारमा गरिएका निर्णय सच्याउनुपर्नेबारेमा चारै नेताले जोड दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए ।
केन्द्रीय समिति बैठकले यही पुस ११ गते पार्टीको १४औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एक वर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो ।
सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको संख्या ४७ पुर्याउने, तरुण दलको म्याद ६ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो ।
‘जिल्ला सभापति परामर्श बैठक’मा सोमबार वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलकाबारेमा जानकारी गराएका थिए भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि गरिएका प्रयासबारेमा जानकारी गराएका थिए ।
बैठकमा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी छन् ।
बुधबारसम्म चल्ने बैठकमा सोमबार र मंगलबार गरी २८ जिल्ला सभापतिले आफ्ना धारणा राखेको रोल्पाका सभापति अमर पुनले जानकारी दिए ।
भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन् ।
बैठकमा सबै नेतालाई एक थलोमा राखेर महाधिवेशनको कार्यतालिका निर्माण गर्दै अघि बढोस् भन्ने सुझाव आएको र त्यही सुझाव पार्टी सभापतिसहित सबै नेतालाई बैठक समापनपछि दिने जिल्ला सभापतिहरुले बताएका छन् ।
‘महाधिवेशन कार्यतालिकामा छलफल गर्न सभापति खुला हुनुहुन्छ’
जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुगेका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटक–पटक केन्द्रीय समिति बैठक सारेको जानकारी गराए ।
महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उनले भने–‘महाधिवेशनको मिति तोकिएको छ । त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा ‘सभापति’ जहिले पनि खुला हुनुहुन्छ । महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो ।’
नागरिकका अधिकार कुन्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गरे ।
‘हाम्रो ऊर्जालाई तितरवितर गर्नुको सट्टा एकीकृत भएर महाधिवेशनको प्रक्रियामा अघि बढ्ने र लोकतन्त्रको रक्षाका लाग पार्टीकेन्द्रित हुनुपर्छ । एक वर्ष समयावधि थप गर्ने र फागुनमा महाधिवेशन गर्नेबारेमा कुनै विमति नै छैन’–उनले भने ।
‘सभापति देउवा भ्रातृसंस्था, केन्द्रीय विभाग, कार्यतालिकामा कहाँनिर परिमार्जन गर्नुपर्यो, तयार हुनुहुन्छ । बैठकमा आएपछि न त्यसबारेमा छलफल हुन्छ ?’ नेता महतले भने–‘सभापतिले सहमतिका लागि धेरै प्रयास गर्दा पनि कुनै उपाय नलागेपछि उहाँहरु (वरिष्ठ नेता पौडेल समूह)को अनुपस्थितिमा निर्णय भएको हो ।’
सबैजना बसेर केन्द्रीय समितिको बैठक बसेमा परिमार्जन गर्ने ठाउँ छ भने परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्