Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


१२२ चिनियाँलाई लैजान आउँदै दुईओटा विमान


0
Shares

दीपक श्रेष्ठ, लक्ष्मणमान डंगोल र योगेश लामा (इमेज)

काठमाडौं, पुस २२ । नेपालमा अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन फिर्ता गर्ने प्रक्रिया लगभग पूरा भएको छ ।

दुई साताअघि पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्धसमेत लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको हो ।

चीन सरकारले नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लगाइएका १२२ जना चिनियाँलाई लिन बुधबार अपराह्न चीनका दुईओटा विमान नेपाल आउने भएका छन् ।

चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।

चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एक/एक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो ।

अध्यागमन विभागले ८८ जनालाई प्रतिव्यक्ति एक हजार रुपैयाँ र ३४ जनालाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ जरिवाना गर्नुका साथै उनीहरुलाई चार वर्ष नेपाल प्रवेशमा प्रतिबन्धसमेत लगाएको बुझिएको छ ।

पर्यटन भिसामा नेपाल आएका उनीहरुमाथि चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न रहेको आरोप चीन सरकारले लगाएको छ ।

भिडियो हेर्नुहोस्