Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


ऐतिहासिक डढेकोट दरवार संरक्षणको अभावमा खण्डहर


0
Shares

-ध्रुवसागर शर्मा/ईमेज

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित ऐतिहासिक डढेकोट दरवार संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने संभावना भए पनि सरोकारवाला पक्षको बेवास्ताका कारण दरबारको अस्तित्व संकटमा परेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाका बखत शक्तिशाली मानिएको म्याग्दीको बेनी नगरपालिकाास्थित तत्कालीन डढेकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्न पुगेको छ ।

विं.सं. १८४० सालमा तत्कालीन ढोलठान राज्यसँग युद्ध गर्न गोर्खाबाट आएका सेनालाई समेत पराजित गरेपछि यो शक्तिशाली राज्यको रुपमा परिचित थियो ।

पर्वतको ज्ञादी र सिरुवारीमा भीषण युद्ध हुँदा डिम्बबम मल्लले गोर्खाली सेनाका ५ सय जना सैनिकलाई मार्नुका साथै युद्धमा बँचेका अरु सैनिकलाई पक्रेर बेनीमा ल्याई थुनामा राखिएको इतिहासमा उल्लेख छ ।

राजा डिम्बबमले ढोलठानलाई ग्रिष्मकालीन र बेनीलाई सीतकालीन राजधानी बनाउने गरेको प्रमाण भेटिएको स्थानीय बुद्धिजिवी शिव बानियाँको भनाइ छ ।

विसं १८४२ मा पुनः दोस्रो पटक बहादुर शाहले गोरखा र पाल्पाको संयुक्त फौज पठाइ पर्वते सेनालाई पराजित गरेपछि पर्वत राज्यलाई विशाल नेपालमा गाभ्न सफल भएका थिए ।

राजा डिम्बबम मल्लले पुरातात्विक शैलीमा निर्माण गरेका उक्त दरवारमा आगलागी भएपछि यसलाई डढेकोट दरवार भन्न थालिएको स्थानीय नीलकण्ठ शर्माको भनाइ छ । दरवार रहेको ठाउँका ढुङ्गा र पर्खाल अहिले अलपत्र अवस्थामा रहेका छन् ।

दरवार नजिकै रहेको कोतमा रहेका विभिन्न आकृतिका ढुङ्गाका मूर्ति त्रिशुललगायतका पुरातात्विक सामग्रीहरु भने अहिलेसम्म पनि सुरक्षित छन् ।

ऐतिहासिक विरासतका यस्ता अमूल्य सम्पदाहरुको संरक्षण र प्रचार प्रसारका लागि सरकारी तवरबाट नै आवश्यक पहल हुनपर्ने ऐतिहासिक क्षेत्र प्रचारप्रसार अभियानका अभियन्ता यामबहादुर बानियाँ बताउँछन् ।

ऐतिहासिक मात्र नभइ पर्यटकीय दृष्टिकोणले समेत यो क्षेत्र सम्भावनायुक्त रहेको छ ।

जहाँँबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, निलगिरि, गुर्जा, मानापाथीलगायतका १८ ओटा हिमालको अत्यन्तै मनकोहक दृश्य देखिन्छ ।

यस ठाउँको भग्नावशेषको संरक्षण गरी नयाँ तरिकाले पुनर्निर्माण गर्न सके ऐतिहासिक पहिचान जोगिने थियो ।