
कञ्चनपुर, साउन १८ । छाडा चौपायामा खोरेत तथा अन्य रोग देखा परेपछि कञ्चनपुरका युवा ‘गाई बचाउ अभियान’मा जुटेका छन् ।
उनीहरुले जिल्लाको पश्चिमी सीमाना गड्डाचौकीदेखि दैजीसम्म सडक किनारमा रहेका घाइते तथा खोरेत रोग लागेका चौपायाको उपचारका लागि अभियान नै संचालन गरेका छन् ।
सडकमा छोडिएका घाइते चौपायालाई उपचार गरिरहेको कञ्चन समाजका युवा भुपेन्द्रराज जोशीले बताए ।
जिल्लामा अहिले घरपालुवा चौपायामा समेत खोरेत रोग देखापरेको छ । दैनिक १५ वटा खोरेत लागेका चौपायाको उपचार भइरहेको पशु सेवा प्राविधिक विजयराम दमाईले बताए ।
उनले छाडा चौपायाका कारण जिल्लामा खोरेत रोग देखा परेको बताए ।
दमाईका अनुसार राष्ट्रिय खोरेत रोग नियन्त्रण प्रयोगशालाले वर्षेनी खोरेत विरुद्धको अभियान संचालन गरे पनि छाडा चौपायामा खोरेतविरुद्धको खोप लगाउन नसकिने भएकाले यो रोगको प्रकोप बढेको हो ।
प्रतिक्रिया दिनुहोस्