यात्रु बनेका प्रहरीलाई विचौलियाले टिकट मिलाइदिन्छु भनेपछि… « Image Khabar


यात्रु बनेका प्रहरीलाई विचौलियाले टिकट मिलाइदिन्छु भनेपछि…

३० जनालाई कानुनी कारबाही


दीपक श्रेष्ठ
काठमाडौं । चाडपर्वमा उपत्यकाबाट बाहिरिने र चाडपर्व सकिएपछि भित्रिने मौका छोपेर स्थलयात्राको टिकटमा ठगीधन्दा मौलाएको पाइएको छ ।

मौकामा चौका हान्न खोज्ने विचौलिया विरुद्ध प्रहरीले अपरेसन अभियान थाल्यो । यसक्रममा यात्रुसँग बढी भाडा असुल्ने, डबल टिकट काट्ने, टिकट काट्ने बहानामा अभद्र व्यवहार गर्ने ३० जना प्रहरी कारबाहीमा परेको छ ।

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान गरेको थियो । यसक्रममा प्रहरी आफैँ यात्रु बनेर टिकट काट्न जाँदा विचौलियाहरूको बिगबिगी रहेको तथ्य खुल्यो ।

एउटाबाट अर्को गर्दै विभिन्न ठाउँबाट प्रहरी दर्जनौं विचौलिया पक्रन सफल भयो । उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको महानगरी ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह बताउनुहुन्छ ।

निर्धारित टिकट काउन्टरमा परिचयपत्र बोकेका कर्मचारीहरूसँग मात्र टिकटको कारोबार गर्न भनिए पनि यस्ता विचौलियाहरूले बाटैबाट यात्रु ललाइफकाइ लाने गर्दा समस्या आएको हो । यो अभियानले यस्ता गलत प्रवृत्ति नियन्त्रणमा आउने प्रहरीको विश्वास छ ।

पछिल्लो समय सरकारले नयाँ भाडा दर निर्धारण गरेपछि यातायात व्यवसायीले खुद्रा नभएको बहानामा पैसा फिर्ता दिने नगरेको व्यापक जनगुनासो छ । पर्वे अनुगमनमा सीमित नभई खुलेआम यात्रु लुटिएको घटनामा सक्रियता देखाउन सर्वसाधारणले प्रहरीसँग आग्रह गरेका छन् ।