Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मंगलबारे अस्पताललाई ५० शय्याको बनाउने निर्णय


0
Shares

विराटनगर, पुस २१ । प्रदेश नम्बर–१ को मन्त्रिपरिषद् बैठकले मोरङको उर्लाबारीमा रहेको मंगलबारे अस्पताललाई ५० शय्याको बनाउने निर्णय गरेको छ ।

जिल्लास्तरीय अस्पताललाई प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्दै ५० शय्याको बनाएर प्रदेश मातहत ल्याउने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले विराटनगर महानगरपालिका र मेची नगरपालिकालाई विदेशी स्थानीय तहसँँग भगिनी सम्बन्ध स्थापित गर्नका लागि संघीय सरकारलाई अनुमतिका लागि पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले जिल्ला प्रहरी कार्यालय धनकुटाका लागि प्रदेश सरकार मातहत रहेको कार्यालय प्रयोगका लागि अनुमति दिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् खर्च गर्ने दुई करोड ५० लाख रुपैयाँ बजेटबाट जिल्ला समन्वय समितिले पाउने ‘कन्टीजेन्सी’वापत्को रकम स्थानीय तहबाट उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।