भीमबहादुर विश्वकर्माको मृत्यु र धार्मिक पाखण्ड « Image Khabar


भीमबहादुर विश्वकर्माको मृत्यु र धार्मिक पाखण्ड



संजिव कार्की

चितवनमा भीम बहादुर विश्वकर्मा कुटपिटको कारण मृत्यु वरण गर्न पुगे l उनको मृत्युको कारणमा जातीय कारण भनिएको छ l मन्दिर पस्न पाउनु पर्ने, दुर्गा पूजा गर्न पाउनु पर्ने उनको विचारको कारण उनलाई मारिएको तर्क गरिएको छ l मान्छे मारिनु र त्यो पनि सार्वजनिक स्थानको मन्दिरमा पस्न पाऊ, पूजा गर्न पाऊ भन्दा मारिनु पर्ने कुटपिटमा पर्नु पर्ने कारण भित्र अन्तर्निहित यथार्थ र मनोविज्ञान अनि अन्ध विश्वासको उत्खनन गरेर समाधान खोज्नु जरुरी छ l अन्यथा आजको यूगमा पनि मान्छे कथित अछुत भनेर मारिनु घोर अन्याय,अत्याचार र अपराध हुनेछ l

जुनसुकै कारणले मान्छे मारिनु र असमयमा मान्छे मर्नु आफैमा नमिठो पीडा हो झन् एक मान्छेले अर्को मान्छेलाई सानो जात भनेर, अछुत भनेर मार्ने कारण बन्नु अति नै असभ्यता र क्रुरता हो l झैँ झगडा दलित र गैर दलितको पनि हुन्छ, गैरदलित, दलितको पनि हुन्छ, दलित, दलितको पनि हुन्छ l तर झगडामा छूत र अछूत जोडियो l म ठुलो हुँ र तँ सानो होस् भन्ने निच भावना जोडियो भने त्यो युगानुकुल बन्दैन बरु दण्डनीय बन्छ l झगडा उसै पनि राम्रो विषय होइन यद्दपि झगडा राम्रो कुराको लागि पनि हुन्छ कहिलेकाही ? यदि भीमबहादुर विश्वकर्माले अन्याय पूर्वक वन्चित गरिएको मन्दिरमा पस्न पाउने कुराको लागि झगडा गरेर मन्दिर पस्न पाउने एक नागरिकको हक स्थापित गर्न झगडा गरेका हुन् भने त्यो मनासिब नै हो भलै उनको प्रस्तुति र शैली गलत थियो होला ?

मदिराको सहारा लिएर उनले आफ्नो न्यायिक हक मागे होला, ठूलो स्वर गरे होला  तर यी सब गलत शैलीको प्रतिवाद उनको ज्यान लिने गरि गर्नु सर्वथा अनुचित हो l यसलाई कुनै पनि तर्कका जलप गरेर गरेर जित्न जिताउन सकिदैन l गल्ति कसैले गर्यो या गरेको जस्तो लाग्यो भने त्यसको कानुनि उपचारको बाटो अबरुद्द छैन तसर्थ भीम बहादुरको मृत्युको कारणलाई बर्जित र बिरोध गर्नु वान्छनीय हुन्छ l यहाँ स्मरणीय के छ भने हरेक झगडामा जातको सवाल उठाउने र जातीय रङ्ग पोत्ने अनि जातीय विभेदको कारण भएको झगडालाई पनि जातको कारण होइन भन्ने जुन अतिवादी प्रवृति र जिराहा प्रतिवाद र अतिरन्जना छ त्यसले निस्कर्षमा पुग्न संधै बाधा पुर्याउछ l जातको विषय अति संवेदनशील र मानवीय अस्मितासँग स्वाभिमान र आत्मसम्मानको विषय हो l

मान्छे भएर मान्छे हुन् नपाउदा र मान्छेले मान्छेलाई मान्छे नमान्दा उत्पन्न हुने परिस्थति वर्तमान चेतमा पक्कै सामान्य र साधारण हुन सक्तैन l आजको समयमा जात भनेर मान्छे मारिनु कति शोभनीय हो ? मान्छेको सभ्यता माथिको खेलवाड र असभ्य हुनुको परिचय होइन र ? आफू जस्तै मान्छेलाई मान्छे हुन् नदिने कस्तो धर्म संस्कृति संस्कार र परम्परा बोकेर हामी हिड्दैछौ ? धर्म मानवीय र प्राणीको हितार्थ हुनुपर्छ नकि अमानवीय ? हिन्दु धर्म जसलाई जातीय विभेदको मूल स्रोतको रुपमा बुझिन्छ, बुझाइन्छ l हिन्दु धर्ममा वर्णित वर्णाश्रम व्यवस्था नै आजको जात व्यवस्थाको सुत्रापात गर्ने प्रथम चरण हो l श्रम बिभाजन विस्तारै जात व्यवस्था भयो र चार समुहमा र बाँडिएको व्यवस्थामा सबैभन्दा पुछारको शुद्र आजको कथित अछुत जाति बन्यो भने ब्राम्हण सबै भन्दामाथि र त्यो वाद बनेर सबैमाथि हैकम गरिरहेछ l सिद्दान्त बनेर रहेको छ l नीति बनेर कार्यन्वयन भै रहेछ l जसको कारण धर्म व्यवस्थाले राज्य व्यवस्थालाई बारम्बार चुनौती पस्केर मानवाधिकारले निषेध गरेको कुरा गर्न उद्देलित गरिरहन्छ l शुद्र भन्ने श्रम विभाजन, आज पर्यन्त त्यो वर्ग र समुदाय मान्छे बन्न पाएको छैन l मान्छे बन्न दिइएको छैन जसको कारण पनि भीम बहादुर विश्वकर्माहरु मन्दिर पस्न पाऊ भन्दा मारिन्छन् l

म पनि यो देशको तिमी जस्तै नागरिक हुँ भन्दा पिटिने गर्छन् l सार्वजनिक धारो र इनार छोएको कारण अपमानित बनाइन्छ्न्, कतिपय अवस्थामा मारिन्छन् l बोक्सी, छाउ र जातीय छुवाछुत जस्ता अवैज्ञानिक कुरामा धर्म र संस्कारको आडमा प्रश्रय दिइन्छ यस मामलामा सरकारको दायित्व किन प्रभावी छैन ? समाजको गलत मान्यता परम्परा र अन्धविश्वास धुने साबुन र मेटने इरेजर बनाउन किन राज्यको प्राथमिकता भित्र पर्दैन ? गलत मनोविज्ञानको औसधी बनाउने प्रयोगशाला खै राज्यले निर्माण गरेको ? राज्यको नियम कानुन र संविधानभन्दा किन माथि छ सामाजिक र धार्मिक कानुन ?

मानवाधिकार उलंघनलाई किन उत्प्रेरित गर्छ धार्मिक परम्परा र संस्कृति ? राज्यको ऐन, कानुन र संविधान, धार्मिक कानुन र विश्वासको अगाडि किन निरीह बन्छ ? कथित छूतद्वारा कथित अछूत अकारण मारिने परम्परा जस्तै किन बन्यो ? त्यो परम्परागतरूपमा विकास भएर आजसम्म आइ पुग्नुमा राज्यको भूमिका छैन र ? राज्यले समीक्षा गरेर र आत्मालोचना गर्दै आमुल सुधारको प्रक्रिया थाल्ने कहिले ? दोस्रो दर्जाको नागरिक अझ भनौ पशुभन्दा तलको जिन्दगी दलितले कहिलेसम्म जिउनु पर्ने ? हिन्दु धर्मका ठेकेदारहरुले आफ्नो व्यापारिक पसल चलाउने कि मानवीय मुल्य र मर्यादाको लागि अगुवाई गर्ने ?  दलित वर्ग र समुदायसँग आजसम्म गरिएका अमानवीय व्यवहारकोलागि माफी मागेर हिन्दु धर्मावलम्बीले समभाव र सम व्यवहारको नीति कहिले अख्तियार गर्ने ? मन्दिरमा पस्दा मारिनु पर्ने दलितको पक्षमा खै नेपालभरका मठ मन्दिरका पुजारी र मठाधीशको क्षमायाचना र बिरोध ?

हिन्दु धर्मको विराट दर्शन र सौन्दर्य वचाइ राख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछूत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मुलन गर्ने अभियान चलाउन जरुरी छ । हिन्दु धर्ममा जातीय छुवाछूत छैन भनेर सफेद झुठ बोल्ने र ढाकछोप गर्ने उल्टो काम गरियो भने यो मानवता विरुद्धको अपराध र मानवीय सभ्यता माथिको भद्दा मजाक हुनेछ । कमजोरी हटाएर यसको मुल्यबोध गर्न जति ढिलो गर्यो उति हिन्दु धर्म संकुचनमा परेर संकट उन्मुख हुने पक्का छ । धार्मिक पाखण्ड छोड्न सकिएन भने भोलि पछुताउनुको विकल्प बाँकी रहन्न l

अयं निजः परो वेति गणना लघु चेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ” “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।” यस्तो विराट मान्यता र दर्शन भित्र मन्दिर पस्न खोज्ने हिन्दु कथित अछुत र दलित भएको कारण मारिनु पर्ने किन ? यसको जबाफ कसले र कहिले दिने ?

पृथ्वीकै शान्ति र आरोग्यताको कामना गर्ने सबैलाई बन्धुत्वको कुरा गर्ने सबैको खुशी र सुखको कामना गर्ने धर्म भित्र किन छूत र अछूत ? आफू जस्तै हिन्दु धर्ममा आस्था र विश्वास राख्ने समुदायलाई हेन्रे नजर किन गलत ? सबैप्रति समभाव राख्ने धर्ममा हिन्दुलाई नै मन्दिर भित्र पस्न र घर भित्र पस्न वन्चित गर्ने परम्परा अझै किन जीवित राख्ने ? यसले हामीले अवलम्बन गरेको परम्परा,सोच,शैलीमा आमूल परिवर्तन नगर्ने हो भने हामीले संधै असभ्य मान्छेको परिचय बोकेर बस्ने कि धर्म संस्कृतिमा गलत प्रथा छोड्ने या धर्म नै परिवर्तन गर्ने अथवा धर्म नै छोडेर नास्तिक बन्ने गम्भीर प्रश्न र सवाल खडा भएको छ l

विवेक सम्मत निर्णय र परिवर्तनको संखघोष गर्न सकिएन भने कथित सामाजिक सद्भावको डोरी चुंडीने र समाज निर्माणको नयाँ जग नयाँ ढंगले विकास हुने निश्चित छ l परिवर्तन समयको माग हो l भीमबहादुर विश्वकर्माको मृत्युमा  हिन्दुधर्मावलम्बी सबैले परोक्ष रुपमा आफ्नो पनि हात रहेको स्वीकार गरेर कलंकको टीका मेटन इमान्दार प्रयास गर्न सकेनन् र अजित मिजारको चिसो लासले भत्भती पोलेको अनुभव गरेनन् भने हिन्दु धर्मको सकारात्मक विपुल दर्शन र मान्यतालाई यस्तै नकरात्मक प्रवृति र आदतले जितेर हिन्दु धर्मको अस्तित्वलाई नामेट पार्न मदत गर्नेछ  l

प्राचीनकालदेखि मध्य एशिया र दक्षिण एशियामा रहेका आर्यहरुको करिब चार हजार वर्षको जीवन गाथा र त्यसदेखि यताको अबधिमा उनीहरुबाट सिर्जित साहित्य, कला,औसधि विज्ञान तथा स्वास्थ्य विज्ञान, धर्म दर्शन र चिन्तन मानवीय दरिद्रताले अप्ठ्यारोमा परेर लोप हुने र अमानवीय दर्शन र धर्मको रुपमा परिभाषित हुने खतरा प्रवल छ l धर्म सकारत्मक ऊर्जाको लागि हुनुपर्छ ठगि र शोषणको माध्यम होइन l धर्म अफिम होइन अमृत बन्नुपर्छ l  धर्मलाई अफिम बनाउने र मानवाधिकार हनन गर्ने साधन बनाउने कुचेष्ठाबाट बचाएर मानवीय हित र प्राणी हितको सर्वोपरी विषय बनाउनु आजको जल्दोबल्दो आवश्यकता हो l सबैले मनन गर्नु जरुरी छ भने हिन्दुधर्मालाम्बीले आफूमाथि लागेको ब्लेम र उठेको प्रश्न जबाफ अमानवीयाताको पर्खाल भत्काएर मानवीयताको पर्खाल निर्माण गर्न किमार्थ ढिलो गर्नु हुन्न lकमजोरी सच्याउदै सुधार्दै जाने धर्म संस्कृति र परम्पराको आयू लामो रहन्छ l