
दिपक घिमिरे
भैरहवा, असोज ३१ । बुद्ध जन्मस्थल लुम्बिनी मार्गमा निर्माण थालिएको पुल वर्षौदेखि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु बाम्ती जेभि कन्सट्रक्सन र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण पुल वर्षौदेखि अलपत्र परेको हो ।
भैरहवा–लुम्बिनी चारलेन सडकखण्ड अन्तर्गत बेथरीमा तिनाउ नदी र गुण्डीमा दानव नदीको पुल निर्माणसम्पन्न नहुँदा घण्टौसम्म सवारीसाधन जाममा पर्ने गरेको छ । पुल निर्माणको काम अलपत्र पर्दा पर्यटकहरु सहज रुपमा लुम्बिनी पुग्न समस्या भएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका बेला लुम्बिनी आउन चाहने पर्यटकलाई पुल नबन्दा समस्या थपिएको लुम्बिनीका पर्यटन व्यवसायी मेघनाथ आचार्यले बताउनुभयो ।
आचार्य जस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ सेमरीका चन्द्रशेखर गुप्ताको गुनासो पनि उस्तै छ । लामो समयसम्म पुल निर्माण सम्पन्न नहुँदा नागरिक तथा लुम्बिनी आउने जाने पर्यटक समस्यामा परेको उहाँको भनाइ छ ।
लुम्बिनी–भैरहवा सडकखण्ड अन्तर्गत औद्योगिक कोरिडोरमा सिमेन्ट उद्योगसहित दर्जनौ उद्योग सञ्चालनमा छन् । उद्योगमा कच्चा पदार्थ तथा उद्योगबाट उत्पादित वस्तु बोकेर दैनिक सयौं सवारीसाधन पुरानो पुल हुँदै आफ्नो गन्तव्यमा जान्छन् । तर पुल निर्माण कार्यसम्पन्न गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, सडकमा हिड्ने यात्रु, चालक तथा नागरिकले निकै नै सास्ती खेप्नुपरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले पुल निर्माणको लागि पप्पु बामती/जेभीसंग भएको ठेक्का सम्झौता रद्द भइ नयाँ ठेक्का प्रक्रियामा गएको बताउनु भयो । उहाँले विभिन्न प्रक्रियाका कारण केही ढिलाई भएको बताउनुभयो ।
हुलाकी सडक आयोजना अन्तर्गत तिनाउ खोला पुल निर्माण गर्ने ठेक्का पप्पु बामती/जेभी काठमाडौंले पाएको थियो । २०७१ साल असार २५ गते सम्झौता भएको र म्याद थपसहित निर्माण सम्पन्न गर्ने अवधि २०७५ असार २५ गते रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्