२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘पुष्करलाल मिडिया अवार्ड’ मानन्धरलाई


0
Shares

काठमाडौं, पुस १९ । कामना प्रकाशन प्रालिले ‘पुष्करलाल मिडिया अवार्ड २०७६’ बाट ईमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरलाई सम्मान गरेको छ ।

सिने मासिक पत्रिका ‘कामना’ले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा शनिबार ललितपुरमा आयोजना गरेको ‘कामना फिल्म अवार्ड्स २०७६’ मा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं सन्चारउद्यमी मानन्धरलाई पहिलोपटक प्रदान गरिएको पुष्करलाल मिडिया अवार्ड २०७६ ले सम्मान गरिएको हो ।

कामना प्रकाशनका तत्कालीन अध्यक्ष एवं सन्चारउद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापना गरिएको अवार्ड पहिलोपटक प्रदान गरिएको हो । 

मानन्धरलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले  अवार्डका साथमा नगद एक लाख रुपैयाँ र ताम्रपत्रसहित सम्मानित गरेका हुन् ।

त्यसैगरी, ‘भरतलाल ह्युम्यानेटेरियन अवार्ड’ सोनाम साङ्बोलाई प्रदान गरिएको छ । सो अवार्डको साथमा साङ्बोलाई नगद एक लाख र ताम्रपत्र प्रदान गरिएको छ ।

दुई चलचित्रकर्मीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । लाइफटाइम अचिभमेन्ट अवार्ड पर्दाबाहिरबाट प्राविधिक सन्तु तामाङ तथा लाइफटाइम अचिभमेन्ट अवार्ड कलाकारको तर्फबाट नीर शाहलाई प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न मनोनयनबाट छनोटमा परेका २६ विधाका उत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।