बडादसैंको उपलक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुको शुभकामना « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


बडादसैंको उपलक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुको शुभकामना

सांस्कृतिकपर्वहरुले नेपाली समाजलाई जोडेर राख्ने विश्वास

0
Shares

काठमाडौं । बडादसैँको उपलक्षमा राष्ट्रपति प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले बडादसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीको संक्रमणबाट जोगिन सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैं पर्व मनाउनका लागि सबैमा आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैंले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यस्ता पर्वहरुले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो बनाउन सक्नेमा आफू विस्वस्त रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुकमा आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको बताउनुभएको छ ।

उहाँले सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका पनि उल्लेख गर्नुभएको छ ।