Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश–१ मा सडक बालबालिकाको उद्धारका लागि रात्रिकालीन अभियान सुरु


0
Shares

विराटनगर, पुस १८ । प्रदेश नम्बर–१ मा सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रिकालीन अभियान थाल्ने घोषणा गरिएको छ ।

यो अभियानको सुरुआत शुक्रबार साँझ प्रदेश–१ को धरानबाट गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश–१ का मुख्य सहरका सडक बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रिकालीन अभियानको घोषणा गरिएको हो ।

केन्द्रले यसअघि संघीय राजधानी काठमाडौंमा रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको उद्धार गरेको थियो ।

शुक्रबार मन्त्रालयले विराटनगरमा बालअधिकारको स्थिति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी प्रदेश–१ मा पनि सडक बालबालिकाको खोजी तथा उद्धार अभियान थालनी गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने घोषणालाई सार्थक बनाउन संघीय सरकारले ल्याएको सडक बालबालिकाको उद्धार गर्ने नीतिले थप मद्दत पुगेको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले संघीय संरचनाको अवधारणालाई आत्मसात् गर्दै प्रदेशमा हस्तान्तरण गर्ने नीतिअनुसार प्रदेशमा पनि रात्रिकालीन अभियान चलाएर सडक बालबालिकाको खोजी र उद्धारको अभियान सन्चालन गरिएको बताए ।

प्रदेश–१ का मुख्य सहर सुनसरीका धरान, इटहरी, झापाका दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालबालिका रहेका प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले जानकारी दिए ।

कुल ५३३ बालगृहमध्ये प्रदेश–१ मा २८ ओटा रहेका र त्यसमध्ये हाल १४ ओटा मात्रै सन्चालनमा रहेका उनले बताए ।