चीनबाट फलफूल आयातमा कमी हुँदा दशैंमा आकाशियो फलफूलको भाउ « Image Khabar


चीनबाट फलफूल आयातमा कमी हुँदा दशैंमा आकाशियो फलफूलको भाउ


Border circle
Imagekhabar

मिरा बस्नेत
काठमाडौं, असोज २७ । दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई छ । जुनसुकै बाहाना पनि उपभोक्ताको ढाड सेक्ने कामले भने निरन्तरता पाएकै छ ।

दशैंको मुखमा बजारमा व्यापक भिडभाड छ । फलफूल व्यायापारी देखि भारी बोक्ने भरियालाई पनि भ्याईनभ्याई छ । अन्य समयभन्दा दशैंमा फलफुलजन्य वस्तु बढी खपत हुने गर्दछ । चाडवाडको समयाम फलफुलको भाउ सधै आकाशिन्छ । दशैंमा मान्यजनको घरमा टीका थाप्न जाँदा, पुजाआज र खानपिनमा समेत फलफूलको अधिक प्रयोग हुन्छ ।

विगतमा पनि यो समय फलफुलको मुल्यमा बृद्धी हुने गदथ्र्यो । तर यो वर्ष भने दशैंको समयमा फलफूलको भाउ गत वर्षको तुलनामा सतप्रतिश बढेको छ । नेपाली बजारमा ९० प्रतिशत फलफूल भारत र चीनबाट आयात हुने गर्दछ । तर लामो समय देखि चिनिया नाका बन्द हुँदा चीनबाट माग बमोजिमको फलफुल नेपाली बजारमा भित्रिन सकेको छैन । विगतमा चीनको नाकाबाट १० दिनमा नेपाल भित्रिने फलफूल अहिले महिनौँ लाग्ने गरेको छ । बजारमा माग बमोजिमको सामान नहुँदा महङ्गो भएको र त्यसको मारमा उपभोक्ताहरु परेका छन् ।

गत वर्ष कोरोना महामारीका कारण घाटा व्यहोरेका व्यवसायीहरु यस वर्ष पनि खासै व्यापार नभएको गुनासो गर्छन् । बजारमा भिडभाड देखिए पनि गत वर्षको तुलनामा यस वर्ष कम व्यापार भएको व्यवसायीको गुनासो छ ।

चाडबाडको नाममा उपभोक्तासंग मनपरी मूल्य असुल्नु भनेको कालाबजारी हो । न यसको नियमन कतैबाट हुन सकेको छ, न व्यवसायीले आफ्नो कर्तव्य सम्झिएका छन् । अझ पसलैपिच्छेका फरक फरक मूल्यले उपभोक्ता अधिकारलाई जिस्काएको भान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्