Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कोभिडले थला परेको व्यवसायीलाई राष्ट्र बैंकको राहत


0
Shares

काठमाडौं । कोभिडका कारण थला परेका व्यवसायीलाई राष्ट्र बैंकको पछिल्लो सूचनाले राहत प्रदान गरेको छ ।

व्याजका लागि बारम्बार ताकेता गर्ने बैंक र लिलामीको सूचनाले हैरानी व्यहोरिरहेका ऋणीका लागि कर्जाको भाका नाघेको कम्तीमा ६ महिना नपुगी धितो लिलाम गर्न नपाइने राष्ट्र बैंकको सूचना आएसँगै सहज भएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जाको धितो लिलामीको सार्वजनिक सूचना प्रकाशित गर्दा कर्जाको भाका नाघेको कम्तीमा ६ महिना हुनुपर्ने व्यवस्था गरेको हो ।

एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाका नाघेको कम्तीमा ६ महिना व्यतीत भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।