
काठमाडौं, पुस १७ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ ।
बुधबार अर्थात् जनवरी १ तारिखका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा अभियानको उद्घाटन गरिन् ।
‘लाइफटाइम एक्पिरियन्स’ मुख्य नारासहित २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अभियान सुरु गरिएको हो ।
अभियानलाई नै केन्द्रित गरेर केही नयाँ पर्यटन गन्तव्यहरु पनि पहिचान गरी विकास गरिएको सरकारी दाबी छ ।
नेपालमा पर्यटनको पर्याप्त सम्भावना भएपनि आवश्यक पूर्वाधार विकास गर्न नसक्दा यसबाट यथोचित लाभ भने लिन सकिएको छैन ।
कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान जम्मा ३ प्रतिशत रहेको छ ।
पछिल्लो समय विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गर्ने गरेको पर्यटन बोर्डको तथ्यांक छ । पर्यटकको खर्च गर्ने क्षमतालाई बढाइ अब प्रतिदिन ८० डलर पुर्याउने एवं वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउँदै आएका छन् ।
सरकारको १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म अर्थात् सन् २०२५ सम्ममा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।
सो लक्ष्य भेट्टाउनका लागि भने पर्यटकको खर्च गर्ने क्षमता बढाउनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउने गर्छन् ।
‘नेपाल पर्यटन वर्ष २०११’ का संयोजक योगेन्द्र शाक्य नेपालमा पर्यटकको खर्च बढाउन पर्यटकलाई आकर्षण गर्नसक्ने विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिन्छन् ।
अहिलेको पर्यटन क्षेत्रमा चुनौतीभन्दा पनि मौका बढी रहेको विश्लेषण छ, पर्यटनउद्यमी शाक्यको ।
गन्तव्य पहिचान, पूर्वाधारको विकास, सहज–सरल पहुँच र इमानदारिता कायममा ध्यान दिनसके यस क्षेत्रमा सजिलै लक्ष्य हासिल गर्न सकिने र पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सकिनेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्