
काठमाडौं, पुस १६ । नेपालमा विनादर्ता सूचना–प्रविधिको प्रयोग गरी हुने ‘पेमेन्ट गेटवे’बाट मात्र राज्यलाई अर्बौं डलर नोक्सान भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
नेपाल राष्ट्र बैंकमा दर्ता नभएका प्रणाली भएकाले ‘वी च्याट’, ‘अलि प्ले’जस्ता पेमेन्ट गेटवेबाट नेपालमा कारोबार गर्नु गैरकानुनी हो ।
तर, यस्ता गेटवेबाट मात्र वार्षिक अर्बौंको कारोबार हुने गरेको र यसले राज्यलाई घाटा पुगिरहेको बताइएको हो ।
यस्ता प्रकारका कारोबारबाट मात्र वार्षिक एक खर्ब रुपैयाँ बढीको राजस्व चुहावट हुने गरेको जनाइएको छ ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बैठकमासमेत अर्थविद् डा. केशव खड्काले सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
मासिकरुपमा सरकारले सूचना–प्रविधिको क्षेत्रमा ८ अर्ब बढी राजस्व गुमाइरहेको उनको तर्क छ ।
नेपालमा वार्षिक झन्डै १४ प्रतिशत बराबर पर्यटक चिनियाँ भित्रिन्छन् । सन् २०१८ मा १२ लाख पर्यटक नेपाल भित्रँदा एक लाख ६० हजार चिनियाँ पर्यटक भित्रिएको तथ्यांक छ ।
वी च्याट चीनको सबैभन्दा बढी प्रयोग हुने बहुआयामिक ‘एप’ हो ।
२०११ देखि सन्चालनमा आएको यो मेसेजिङ, सोसल मिडिया र मोबाइल पेमेन्ट सुविधा भएको एप हो ।
२०१८ मा विश्वकै सबैभन्दा ठूलो एप बन्न सफल यस एपको मासिक सक्रिय प्रयोगकर्ता नै एक अर्ब बराबर रहेको जनाइएको छ ।
बहुआयामिक प्रयोगका कारण यसलाई चीनमा ‘सुपर एप’ र ‘हरेक चिजका लागि चिनियाँ एप’ भनेर पनि भनिने गरिएको छ ।
नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटकले चिनियाँले चलाएका होटल, रेस्टुराँ र अन्य व्यवसायमा वी च्याट गेटवे प्रयोग गर्ने गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्