कञ्चनपुर, पुस १६ । पर्यटन वर्ष २०२० को अवसरमा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई नगर परिक्रमा गराइएको छ ।
गड्डाचौकी नाकाबाट भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित जर्मनी र इटलीयन पर्यटकहरुलाई नगर परिक्रमा गराइएको हो ।
पर्यटन वर्षका अवसरमा भिमदत्त नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पाँचजना विदेशी नागरिकहरुलाई ढाका टोपी तथा खादा ओढाएर सम्मान गरिएको छ ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रहरुको जानकारी सँगै स्थानीय परिकारहरु खुवाइएको थियो । कार्यक्रममा बोल्दै विदेशी नागरिकले आफूहरुले पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा सुदूरपश्चिमका भेषभूषा, पहिचान झल्किने छलिया नाच, भुवा नाच तथा राना थारुको नृत्य प्रस्तुत गरिएको थियो । पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकलाई यहाँका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका गड्डाचौकीसँगै विभिन्न स्थानमा क्षेत्रमा होर्डिङबोर्डहरू राखिएका छन् ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०१९ डिसेम्बर २९ सम्म गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१८ मा दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
कार्यालयका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक नेपाल भित्रिने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्