Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई पहिलो चरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ ।

तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् । सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन् । उनी पनि पक्राउ परेका छन् । सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए । उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन् ।