Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रहरीले तेस्रोलिङ्गीमाथि विना कारण आक्रमण गरेको गुनासो: डिएसपीविरुद्ध उजुरी


0
Shares

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका ब्यक्तिहरुमाथि आक्रमणका घट्नाहरु बढेकोप्रति सरोकारवालाहरुले गुनासो गरेका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समुदायकामाथि दिनहुँजसो आक्रमण भइरहेको बताइन ।

विशेषगरी प्रहरी प्रशासनले विना कारण कुटपिट गर्ने, पक्राउ गर्ने र अभद्र ब्यवहार गर्ने गरेको उनको गुनासो छ । विगत ६ महिनाको अवधीमा आफ्ना एक दर्जन बढी साथीहरुमाथि प्रहरीबाटै सांघातिक आक्रमण भएको बताइन ।

हालैमात्र सडकमा हिड्दै गर्दा एक तेस्रोलिंगीमाथि प्रहरीले कुटपिट गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी परेको छ ।

महानगरीय प्रहरी वृत्त अनामनगरका प्रहरी नायव उपरिक्षक(डिएसपी) कौशलकुमार बुढाथोकीलाई कारवाहीको माग गर्दै तेस्रोलिंगी विपासा महर्जन (परिवर्तित नाम) ले आयोगमा उजुरी दिएकी हुन् ।

काठमाडौंको वीर अस्पताल अगाडी पार्किङमा राखिएको स्कुटी लिन जादाँ कुटपिट सामान्य विवाद हुँदा बुढाथोकीको निर्देशनमा आफूमाथि कुटपीट भएको उनले आफ्नो उजुरीमा उल्लेख गरेकी छन् ।

मिति २०७६ पुस १३ गते मानव अधिकार आयोग, सानेपामा ४८९ नम्बरमा दर्ता भएको उजुरीमा डिएसपी आफैं अग्रसर भएर विपासामाथि आक्रमणमा उत्रिएको उल्लेख छ ।

शुक्रबार बेलुकी सवा ८ बजे चिया खाएर पार्किङमा राखिएको स्कुटी लिन जादाँ प्रहरीले लाठीले कुटेको र प्रतिवाद गर्दा डिएसपी बुढाथोकी उल्टै आक्रमणमा उत्रिएको विपासाले बताइन । तर डिएसपी बुढाथोकीले वीर अस्पताल तथा सुन्धारालगायको क्षेत्र आफ्नो मातहत अन्तर्गत नपरेकाले घट्नाबारे आफूलाई थाहा नभएको बताए ।

उता, मानव अधिकार आयोग ३ नम्वर प्रदेश कार्यालयले उजुरी गोप्य हुने भन्दै छानविन भइरहेको बताएको छ ।

काठमाडौंको लाजिम्पाट, सुन्धारा, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा रात्रीकालिन समयमा यौनधन्दा तथा अवैधानिक गतिविधि बढेको भन्दै प्रहरीले तेस्रोलिङ्गी तथा समलिङ्गी समुदायलाई नै लक्षित गरी दुःख दिनेगरेको निलहिरा समाज, मानवअधिकार विभागका भक्ती शाहले बताए ।

‘स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने नैसर्गिक अधिकारलाई वेवास्ता गर्दै प्रहरी प्रशासन तेस्रोलिङ्गी तथा समलिङ्गी समुदायप्रति उत्रिनु दुःखद कुरो हो,’ उनले भने,‘यस विषयमा हामी चाँडै सरोकालवालाहरुसँग छलफल गरेर एउटा प्रक्रियामा अघि बढ्नेछौं ।’ तेस्रोलिङ्गी तथा समलिङ्गीहरुमाथि आक्रमण, पक्राउ तथा अभद्र ब्यवहारका घट्ना बढेको उनको भनाइ छ ।