धु्रव भट्टराई, ईमेज
विराटनगर । सुरुमा पूर्वी पहाडी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप अहिले तराईका केही जिल्लामा पनि देखा परेको छ ।
गत जेठमा तेह्रथुम र धनकुटामा फेला परेको फौजी किराको प्रकोप अहिले झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा समेत बिस्तार भएको हो ।
यसलाई समयमै नियन्त्रण गर्न नसके बाली नै सखाप पार्न सक्ने भएकाले लार्भा भेटिनासाथ तत्काल खबर गर्न किसानलाई आग्रहसमेत गरिएको छ ।
पहिले धानखेतीमा देखा परेको फौजी किराको प्रकोप अहिले मकै खेतीमा फैलिन थालेको छ ।
उम्रिँदै गरेको मकैका बिरुवामा फौजी किराको लार्भाको संक्रमण भएसँगै झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका किसानहरु चिन्तित भएका हुन् ।
फौजी किराको बारेमा जानकारी नभएकाले विषादी प्रयोग गर्न नजानेर कतिपयको मकैबाली नै सखाप भइसकेको छ ।
बाली संरक्षण प्रयोगशालामा सम्पर्क गरेपछि भने अहिले अहिले विस्तारै किराको प्रकोप नियन्त्रणमा आइरहेको मोरङको जहदा गाउँपालिका १ का कृषक महेन्द्र दासको भनाइ छ ।
गत जेठ महिनायता यता खोटाङ, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, तेह्रथुमसहित तराईका जिल्लामा समेत प्रकोप देखा परेको हो ।
किराले सम्पूर्ण प्रदेशभित्रको २ हजार सात सय १० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा नोक्सान पुर्याएको प्रदेश १ कृषि निर्देशनालय विरानगरले जनाएको छ ।
एक रातमा १०० किलोमिटर टाढासम्म उड्न सक्ने भएकाले यसलाई समयमै नियन्त्रण गर्न नसके यसले बाली नै सखाप बनाउने बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादव बताउँछन् ।
किसान सचेत भए फौजी किरा नियन्त्रण गर्न सकिने भन्दै बालीमा निगरानी गर्न र लार्भा भेटिए तत्काल खबर गर्न किसानहरुलाई कृषि विज्ञले आग्रह समेत गरेका छन् ।
पूर्वी तराइका झापा, मोरङ र सुनसरी ३ वटै जिल्लाहरुका धेरै मकैबालीमा यो किराको लार्भाहरु र बयस्क पुतलीहरु भेटिएका छन् ।
अहिले प्रदेश सरकारले र्यापिड रेसपोन्ज टिम गठन गरी प्रकोप नियन्त्रणको पहल थालेको छ । अमेरिकामा पाइएको फौजीकिरा भारत हुँदै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्