Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


पुनःनिर्माणको पर्खाइमा धरहरा, ओढाइयो नीलो प्लास्टिक (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन १७ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले थुप्रै सम्पदामा क्षति पुग्यो । केही सम्पदाको पुनःनिर्माण सकिएपनि धेरै सम्पदा अझै निर्माणको पर्खाइमै छन् ।

तीमध्येको एक हो, देशकै शान मानिएको धरहरा ।

वैशाख १२ को झोक्काले भीमसेन थापाकालीन पहिचानलाई ठनक्कै पारिदियो । उ आफैंमात्र भाँचिएन, उसको मृत्युसँगै थुप्रै मानव जीवनको इहलीला पनि एकैपटक स्वाहा भयो ।

यसबीचमा धरहरा बनाउने होडमा कोचाहिँ सामेल भएन र ? देशको एकसेएक कम्पनीदेखि स्वयं प्रधानमन्त्री नै पनि धरहरा ठड्याउने महान् अभियानमा गैची र बेल्चा लिएर सुन्धरामुन्तिर सुम्सुम्याउन पुगे ।

तर, नियति ! चौथो वर्षको मध्य वर्षात्मा आइपुग्दा धरहरा ठड्याउनेभन्दा त्यही ठूटोमा नीलो प्लास्टिक ओडाएर राज्यका निकाय लाज ढाक्न उद्दत भए ।

लाज ठूटो बनेको धरहराको ढाकियो कि राज्य सन्चालनको कुर्सीमा आसिनको ? प्रश्न त धरहराले चेपिएका आत्माहरुले पनि गर्दै होलान् !

तैपनि, जीवन गुमाएको बूढो धरहराको ठूटो स्वरुप अझैपनि पुनःनिर्माणको प्रतीक्षामा आँखा ओछ्याइरहेको छ ।

‘मै बनाउँछु, मेरो धरहरा’ भन्ने प्रधानमन्त्रीमात्र होइन, नागरिकसँग राम्रै कर संकलन गरेर धनी बनेको सरकारी संस्थान नेपाल टेलिकमसमेतले पुनःनिर्माणबाट हात झिकेपछि अहिले यसको जिम्मेवारी बोक्न आइपुगेको छ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ।

चार/चार वर्ष भग्नावशेषकै वरिपरि घुमेकाहरुकै कारण अहिलेपनि निर्माणको काम गर्न नसकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धर बताउँछन् ।

धरहरा वरिपरि भत्काइएको भौतिक संरचना र ढलेका रुखले त्यो क्षेत्र नै कुरुप भएको छ ।

भिडियो हेर्नुहोस्