
काठमाडौं, असोज १८ । पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
सोमबार विश्व बसोबास दिवस २०२१ को सन्दर्भमा पूर्व सचिव तथा शहरी विकास विज्ञ थापाले संसारका विकसित देशको तुलनामा नेपालले कम कार्बन उत्र्सजन गरेपनि नेपाल यसबाट हुने जलवायु परिवर्तनको चपेटामा परेको बताउनुभयो ।
नेपाल जलवायु परिवर्तनबाट पीडित भएको सन्दर्भमा विश्व मञ्चहरुमा आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै नेपालमा पनि कार्बन उत्र्सजन न्यूनीकरण गर्न ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । थापाले छिमेकी मुलुक चीन र भारत संसारकै बढी कार्बन उत्र्सजन गर्ने मुलुकमा पर्ने भन्दै यी छिमेकी मुलुकसँग वार्ता गर्दा जलवायु परिवर्तनको एजेण्डा बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले कार्बन उत्र्सजन घटाउनका लागि सबैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापन गर्ने, इन्धनको प्रयोगलाई घटाउने, सवारी साधनको प्रयोग घटाउने र भवन निर्माणको प्रक्रियालाई व्यवस्थित बनाउन सके कार्बन उत्र्सजन घट्ने उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा छरिएर रहेको बजेटलाई एकै ठाउँ केन्द्रीकृत गरी व्यवस्थित शहर बनाउनुपर्नेमा जोड दिनुभयो ।
सन् १९८६ देखि हरेक वर्ष अक्टोवर महिनाको पहिलो सोमवारको दिन विश्व बसोबास दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्षपनि सोमबार ‘तीव्र शहरी क्रियाकलापको लक्ष्य ः कार्वन रहित विश्व’ नारा तय गरि मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्