-नविन सिंह/ ईमेज
जनकपुर । अत्याधिक चिसोका कारण मध्य पूर्वी तराईको जनजीवन चौपट बनेको छ । पुस महिनासँगै बाक्लो हुस्सु र शीतलहरका कारण धनुषासहित प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको हो ।
चिसोकै कारण प्रदेश २ का विभिन्न जिल्लाहरुमा अहिले विद्यालयसमेत बन्द गरिएको छ । अत्याधिक चिसोका कारण कठ्याङ्ग्रिएर यो वर्ष मध्य पूर्वी तराईमा दुई जनाको मृत्यु भइसकेको छ ।
पर्सा र धनुषामा गरी दुई महिलाको मृत्यु भएको हो । त्यस्तै धनुषामा आगो ताप्ने क्रममा जलेर १० जना घाइते भएका छन् ।
चिसोले देशैभर असर पुर्याइरहेपनि शीतलहरका कारण घाम नलाग्दा तराईका बारा, पर्सा, धनुषा, रौतहट, सर्लाही, सप्तरी र महोत्तरी बढी प्रभावित बनेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्ण बताउँछन् ।
यसमा पनि दलित बस्तीका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । अहिले यहाँको न्युनतम तापक्रम बिहानको समयमा ५ देखि ६ डिग्री सेल्सीयससम्म झरेको छ ।
चिसो बढेसँगै मध्य पूर्वी जिल्लाका विद्यालयहरुमा जाडो बिदा दिइएको छ । बढ्दो चिसोमा स्वास्थ्य समस्या देखिने भएकाले काम विशेषले बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेपनि न्यानो कपडा लगाउन, झोलिलो र ताजा खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
चिसोले न्यानो कपडा नभएका अति विपन्न, असहाय, मजदुर र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन् । उनीहरु शरीर ढाक्ने न्यानो कपडा र राती ओढ्ने–ओछ्याउनेको अभावमा आगो तापेरै चिसो छलिरहेका छन् ।
त्यसमा पनि अधिकांश दलित बस्तीका बासिन्दाले न त दाउरा ताप्न पाएका छन् न त बाक्लो कपडा नै लगाउन पाएका छन् । बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा हरेक सवारी बत्ती बालेर गुडिरहेका छन् ।
अत्यधिक बढेको जाडो र शितलहरबाट बच्न विपन्न तथा गरीव परिवारका व्यक्तिहरुलाई विभिन्न संघ संस्थाहरुले कम्बललगायतका न्यानो लुगाहरु वितरण गर्दै आएका छन् ।
यसका साथै स्थानीय तहहरुबाट ठाउँ ठाउँमा दाउरा बालेर अगेनाको व्यवस्था गरिएको भएपनि त्यो अपुग देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्