२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


कृषिको समस्या नसुल्झी मुलुकको विकास सम्भव हुँदैन : मन्त्री भुसाल


0
Shares

काठमाडौं, पुस १४ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिको समस्या नसुल्झिकन मुलुकको विकास नै सम्भव नहुने बताएका छन् ।

कृषि जटिल विषय भएकाले आफैं नगरी नहुने, कृषिको समस्या नसुल्झिकन मुलुक विकसित नहुने र विकास गर्न सम्भवसमेत नहुने बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले सोमबार आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रको व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरी कसरी रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबारे निजी क्षेत्रको राय माग गरे ।

सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफू दृढ संकल्पित रहने दृढता पनि उनले व्यक्त गरे ।

अर्थतन्त्रको महत्वपूर्ण चालक निजी क्षेत्रलेसमेत असल अभ्यास नगरेका कारणसमेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले एकीकृतरुपमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र मिली समस्याको सम्बोधन गरिने बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि कर्जाको सहज, सरल उपलब्धता, कृषि बीउ–विजनमा अनुदानलगायत आवश्यक रहेको बताए ।

‘हामी अरु कुरामा भारत, चीनलाई पच्छ्याउने तर कृषि क्षेत्रमा यी छिमेकी मुलुकले दिएको सुविधामा चाहिँ किन ध्यान पुर्‍याउन सक्दैनौं ?’ भन्ने उनको प्रश्न थियो ।

हामी आत्मनिर्भर हुन नसकेको वस्तुमा भन्सार शुल्क वृद्धि गरिँदा उपभोक्ता बढी मारमा पर्नेतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।

चेम्बरका कृषि समिति सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरणमा सहयोग, श्रम लागत श्रमिकले आफैं लिनसक्ने अवस्थाको सिर्जना, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, कृषिमैत्री बिमा हुनुपर्नेलगायतका सुझाव प्रस्तुत गरेका थिए ।