बुटवल, पुस १४ । प्रदेश नम्बर–५ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने प्रदेश–५ का खेलाडीलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सागमा एकलतर्फ स्वर्णपदक विजेता खेलाडीलाई एक लाख र समूहमा स्वर्ण जित्नेलाई जनही ८० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।
यस्तै, एकलतर्फ रजतपदक विजेतालाई ८० हजार, समूहमा रजत जित्नेलाई जनही ६० हजार, एकलतर्फ कास्य जित्नेलाई ६० हजार र समूहमा कास्य जित्नेलाई जनही ४० हजारसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री लिला गिरीले जानकारी दिए ।
बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्नेछ ।
बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए ।
प्रदेश मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षणसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्नसमेत स्वीकृति दिएको छ ।








प्रतिक्रिया दिनुहोस्