
काठमाडौं, पुस १४ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको चितवन मेडिकल कलेजले लामो समयसम्म शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट्न काठमाडौं आएका विद्यार्थीहरुले सोमबार कलेजले शुल्क फिर्ता गर्ने आश्वासन दिएपनि हालसम्म शुल्क फिर्ता र समायोजन नभएको भन्दै गुनासो गरेका हुन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका अध्यक्ष प्रकाश चन्दले शुल्क फिर्ता नभएको विषयमा शिक्षामन्त्रीलाई जानकारी गराएको बताए ।
उनले चिकित्सा शिक्षा आयोगले यही पुस २२ गतेसम्म केही निर्णय गर्ने भन्दै मन्त्री पोखरेलले आश्वासन दिएको जानकारी गराए ।
संघर्ष समितिका प्रवक्ता नरेश भट्टले ‘सरकारले दिएको निर्देशन कार्यान्वयन नगराउने मेडिकल कलेजहरुलाई किन कारबाही नगरेको ?’ भन्दै प्रश्न गरे ।
विद्यार्थीहरुको आन्दोनलमा ऐक्यबद्धता जनाउन आएका अभिभावकहरुले आन्दोलनका कारण आफ्ना छोरा–छोरीको भविष्यमाथि नै खेलबाड भएको गुनासो गरेका थिए ।
कलेजले २०७२ र २०७३ सालको ‘व्याच’को पहिलो र दोस्रो वर्षको ३४ लाख रुपैयाँ शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।
सरकार र मेडिकल कलेजबीच गएको मंसिर १० गते शुल्क फिर्ता र समायोजनको विषयमा सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्