दीपक श्रेष्ठ र योगेश लामा (इमेज)
काठमाडौं, पुस १४ । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन नियमविपरीत अव्यवस्थितरुपमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ ।
गएको शुक्रबारदेखि सुरु गरिएको यो अभियानलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ ।
सर्वोच्च अदालतले चार वर्षअघि नै काठमाडौं उपत्यकाभित्र अव्यवस्थित रुपमा राखिएका र सहरलाई कुरुप बनाउने होडिङ बोर्ड हटाउन आदेश दिएको थियो ।
विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।
तर, अहिले आएरमात्र अदालतको आदेश पालना गर्दै महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ ।
चारओटा कार्यदल बनाएर होर्डिङ बोर्ड हटाउने अभियान थालिएको छ ।
पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चाबहिल, कलंकीलगायतका स्थानमा नियमविपरीतका होडिङ बोर्ड राखेको पाइएको महानगरपालिकाले जनाएको छ ।
सहरको सौन्दर्य बढाउन अदालतको आदेश पालना गर्न होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले बताए ।
होडिङ बोर्ड हटाउने अभियानसँगै जथाभावी विज्ञापनका पोस्टर, पम्प्लेट टाँस्ने कार्यमा पनि महानगरपालिकाले कडाइ गरेको छ ।
पोस्टर, पम्प्लेट टाँस्दै हिँड्नेहरुबाट जरिवानावापत् झन्डै एक लाख १५ हजार रुपैयाँ उठाइएको महानगर प्रहरी प्रमुख सापकोटाले बताए ।
नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमासम्म राख्न नपाइने कानुनी व्यवस्था रहेको छ ।
काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिका अरु काममा पनि सक्रियता देखाएको छ ।
जथाभावी टाँगिएका अव्यवस्थित तार व्यवस्थापन गर्नेदेखि नियमित सरसफाइको कामलाई तीव्रता दिइएको महानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्