Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दशैंको मुखमा विद्यालय खोल्दा अभिभावक रुष्ट, त्रास कम गर्न जाेखिम माेलेकाे सञ्चालकको जवाफ

समय तोकेर शुल्क तिर्न दवाव नदिएको विद्यालय सञ्चालकको दाबी

39
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । असोज १ बाट स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यकामा स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरेर विद्यालय खोल्ने भनियो । सोही निर्देशनअनुसार अधिकांश विद्यालय भर्चुअल कक्षालाई निरन्तरता दिई तिहारपछि विद्यालय खोल्ने योजनामा रहँदा केही विद्यालय भने नियमित पढाइ तथा परीक्षा सञ्चालन गरिरहेका छन् ।

दशैंको मुखमा २० दिनको लागि विद्यालय खोल्ने निर्णय गरेर प्रशासन र महानगरपालिकाले शुल्क उठाउन सहजीकरण गरिदिएको अभिभावकको आरोप छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

तर, विद्यालय सञ्चालकहरू भने सो कुरा मान्न तयार छैनन् । काठमाडौंस्थित न्यूटन हाइस्कुलका प्रधानाध्यापक राम केसी, शुल्क उठाउनका लागि मात्र विद्यालय नखोलेको बताउनुहुन्छ । विद्यालयले मासिक शुल्क नबढाएको र यति समयभित्रै तिनुपर्छ भनेर अभिभावकलाई दवाव पनि नदिएको उहाँको दाबी छ ।

विद्यालय बाहिर पर्याप्त सावधानी अपनाइएको पाइँदैन । विद्यालयसम्म पुग्न सवारी साधन र सार्वजनिक स्थलमा लापरबाहीका कारण कोरोना सरिहाल्छ कि भन्ने त्रास विद्यार्थीमा छ । डरैडरमा विद्यालय पुगेका विद्यार्थीलाई शैक्षिक सत्र नै खेर जाने पो हो कि भन्ने चिन्ता पनि छ । भौतिक रुपमा पढ्न पाउँदा विद्यार्थी भने खुसी छन् । यद्यपि उनीहरूमा आफ्नो कारणले घरका वृद्धवृद्धामा संक्रमण फैलन्छ कि भन्ने त्रास भने बाँकी नै छ ।

वैकल्पिक माध्यमबाट पढाइ हुँदा पनि न्यूनतम शुल्क तिर्नैपर्छ । शुल्कका लागि विद्यालय खोल्न लागिएको भन्ने आरोप सत्य नभएको विद्यालय सञ्चालकहरूको दाबी छ । शुल्कको लेनदेन र नाफाघाटाको हिसावकिताब पछि मिलाउन सकिन्छ । तत्कालको लागि विद्यार्थीमा देखिएको मनोवैज्ञानिक भय हटाउन अभिभावक, विद्यालय र शिक्षक एकतावद्ध भएर लाग्नुपर्छ ।