
कञ्चनपुर । कञ्चनपुरमा पाँच वर्षदेखि कार्यालय सहयोगीको भरमा पर्यटन बोर्डको कार्यालय संचालन भइरहेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला गड्डाचौकीस्थित पर्यटन बोर्डको कार्यालय भने कार्यालय सहयोगीको भरमा संचालन भइरहेको छ ।
सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा पर्यटन बोर्डको कार्यालय पाँच वर्षदेखि कार्यालय सहयोगी थानेश्वर लेखकको भरमा चलेको हो ।
सरकारले सुदूरपश्चिमका पर्यटकीयस्थलबारे जानकारी दिने उद्देश्यले पर्यटक सूचना केन्द्र स्थापना गरेपनि कार्यालयमा प्रमुख नहुँदा समस्या भएको छ ।
सरकारले २० लाख पर्यटन भित्र्याउने उद्देश्यका साथ भ्रमण वर्षको प्रचारप्रसारमा जोड दिएपनि पश्चिमी नाकामा भने गन्तव्य बारे जानकारी दिने कर्मचारी छैनन् ।
अध्यागमन कार्यालयसँगै रहेको पर्यटक सूचना केन्द्रमा जानकारी लिन गएका पर्यटकहरु कर्मचारी नभेटिएपछि फर्किने गरेका छन् ।
सन् २०१९ डिसेम्बर २९ सम्म गड्डाचौकी नाका भएर दुई हजार नौ सय ११ जना विदेशी पर्यटक गड्डाचौकीबाट नेपाल भित्रिएका छन् भने सन् २०१८ मा दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्