काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।
समितिको हालै बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५/०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो ।
त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।
यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो ।
त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत संकलित कुल १ लाख ८९ हजार लगतमध्ये हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिए ।
बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेको पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्ने लक्ष्य रहेको घिमिरेले उल्लेख गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्