
म्याग्दी । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विना अक्सिजन सोमबार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् ।
कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ । टिममा ३२ जना आरोही रहेको जनाइएको छ ।
इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकुल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् । राजकुमारी थानीले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जनाइएको छ ।

नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महिना ६ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन् । उनीहरुबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ ।
त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना,कञ्चनजङ्गा हिमाल आरोहणका लागि एक टिमका तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्