२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


सर्वसाधारणले खान छाडे प्याज


0
Shares

काठमाडौं, पुस १३ । बजारमा प्याजको मूल्य आकाशिएसँगैं सर्वसाधारणले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँयता नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो ।

भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य बढी छ ।

बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो २०० मा कारोवार भइरहेको छ । तीन महिनाअघि प्रतिकिलोको  ४० देखि  ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा १५० बढी पुगेको छ ।

अझ कुनै खुद्रा पसलहरुमा त २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् । तर  चाइनिज प्याज भने खुद्रा मूल्य १७० प्रतिकिलोमा कारोबार भइरहेको छ । प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् ।

भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।