बाग्लुङ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले देशमा राजनीतिक स्थिरता कायम भएको हुँदा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
बाग्लुङ उद्योग वाणिज्य संघले आयोजना गरेको छैठौँ बागलुङ महोत्सवमा आर्थिक समृद्धिको पक्षमा ‘उज्यालो बागलुङ, समृद्ध बाग्लुङ’ विषयमा भएको बहसका क्रममा मन्त्री गुरुङले सरकार लगानीमैत्री वातावरण सिर्जनाका लागि प्रतिवद्ध रहेकोे भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई व्यवसायको वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए ।
उनले पछिल्लो समय व्यवसाय गर्ने वातावरण बिग्रिँदै गएको भन्दै सरकारले व्यवसायी मैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल अझै परनिर्भर रहेको भन्दै सरकारको सहयोग भयो व्यवसायीले सम्मृद्ध नेपाल बनाउन सक्ने जिकीर गरे ।
महासंघका उपाध्यक्ष चन्द्र ढकालले लगानी गर्नको लागि व्यवसायिक वातावरण उचित हुन जरुरी रहेको बताए ।
उद्योग खोलेर व्यवसायीले मात्र लाभ नलिने भन्दै रोजगार र सरकारलाई राजश्व बढाउनमा टेवा पुग्ने उनको भनाइ छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरूङले धेरै पैसा भएर मात्रै व्यवसाय नहुने भन्दै थोरै लगानीमा पनि व्यवसाय गरी सफल हुन सक्ने धारणा राखे ।
सरकारले जग्गा व्यवस्थापन र कानुनी अल्झनको प्रक्रियामा सहयोग गरे १० महिनाभित्र बागलुङमा भाटभटेनी सुपरमार्केट खोल्न सक्ने पनि उनले बताए ।








प्रतिक्रिया दिनुहोस्