बागलुङ, पुस ११ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवको शुक्रबार उद्घाटन कार्यक्रममा सहभागीहरुबाट उम्मेदवारी घोषणाको प्रस्ताव आएसँगै ढकालले प्रस्ताव स्वीकार गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।
महोत्सवलाई महासंघको उपाध्यक्षका तर्फबाट सम्बोधन गर्नेक्रममा उनले साथीहरुले महासंघको नेतृत्वमा आउन गरेको प्रस्ताव आफूलाई स्वीकार्य रहेको बताएका हुन् ।
आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेक्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवं स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको स्मरण गर्दै आज आफ्नो गृहजिल्लाका व्यवसायी साथीहरुले पनि यो प्रस्ताव गरेकाले आफूलाई स्वीकार्य रहेको जानकारी उनले दिए ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको छैटौं बागलुङ महोत्सवमा पुरुष भलिबल, दोहोरीगीत, भजन, खुला लोकनृत्यलगायत प्रतियोगिताकोसमेत आयोजना गरिएको छ ।
महोत्सवबाट करिब डेढ करोड रुपैयाँ बराबरको आम्दानी हुने आयोजकको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्