काठमाडौं, पुस ११ । नेपाल ट्रस्टअन्तर्गत् ल्याइएको स्व. राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्ति दुरुपयोग भएको आरोप लागेपछि ट्रस्टका कर्मचारीहरुले आफूहरुले ‘माथि’को आदेश पालना गरेको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार ट्रस्टको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले माथिको आदेश, मन्त्रिपरिषद्का निर्णय र कानुनअनुसार ‘अन्धो बनेर काम गर्नुको विकल्प आफूहरुसँग नरहेको’ बताए ।
गोकर्ण रिसोर्टलगायतका सम्पत्ति व्यापारिक घराना ‘यती समूह’लाई ‘लिज’मा दिने र लिन अवधि ६ वर्ष बाँकी छँदै अर्को २५ वर्षका लागि लिज अवधि बढाइएपछि ट्रस्टको कार्यालयले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेको हो ।
‘कर्मचारीलाई आरोपित नगरियोस्’
पत्रकार सम्मेलनमा ट्रस्टको कार्यालयका सचिव गजेन्द्र ठाकुरले आफूहरु राष्ट्रसेवक कर्मचारी भएकाले माथिबाट जे आदेश आउँछ, जे–जस्तो कानुन छ अनि जे निर्णय भएर आउँछ, त्यही पालना गर्नुको विकल्प नरहेको भन्दै कर्मचारीलाई आरोपित नगर्न आग्रह गरे ।
सचिव ठाकुरले गोकर्ण रिसोर्ट यती समूहलाई लिजमा दिँदा र त्यसको लिज अवधि बढाउँदा सरकारलाई भने फाइदा हुने दाबी गर्दै माथिको आदेशकै कारण समयमै निर्णयहरु सार्वजनिक गर्नसमेत नसकेको र झुटोसमेत बोल्नुपरेको पनि बताए ।
‘अनावश्यक आरोप लगाइयो’
सो अवसरमा ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले नेपाल ट्रस्टअन्तर्गत्का सम्पत्तिहरु लिजमा दिएकोबारे आफूहरुमाथि अनावश्यक आरोप लगाइएको भन्दै गोकर्ण रिसोर्टले चर्चेको २७९३ रोपनी जग्गा गौचरनमा परिणत नहोस् भनेर समयअगावै लिज थपिदिएको तर्क गरे ।
तत्कालीन राजा वीरेन्द्र तथा पूर्वराजपरिवारका सम्पत्तिहरु सार्वजनिक हितमाबाहेक अन्यत्र प्रयोग गर्न नपाइने कानुनी प्रावधान रहेकामा सरकारले ऐन संशोधन गरी व्यापारिक प्रयोजनका लागि लिजमा दिन सकिने व्यवस्था गरेपछि निजी व्यापारिक घरानाहरुलाई लिजमा दिइएको हो ।




प्रतिक्रिया दिनुहोस्