
सर्लाही, साउन १७ । सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने बलरा नगरपालिकामा एक मदिरा पसल सञ्चालकको हत्या भएको छ ।
भारतीय सीमा नजिक मदिरा पसल सञ्चालन गर्दै आएका बलरा नगरपालिका–३ का ६५ वर्षीय जुगल साहको हत्या भएको हो । साहले बलरा नगरपालिका–४ मा सञ्चालन गरेको मदिरा पसलमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाँटी थिचेर हत्या गरिएको अवस्थामा साहको शव फेला परेको घटनास्थलमा पुगेका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
घटनास्थल नेपाल–भारत सीमा दशगजाबाट करिव डेढ सय मिटर वारी पर्छ ।
छोराहरु बेलुका पसल बन्द गरेर घर फर्किएपछि साह एक्लै पसलमा सुतेका थिए । आज बिहान पसल खोल्न जाँदा पछाडितर्फको कोठामा बुवाको शव फेला परेको जुगलका छोरा विनोद साहले बताए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको छ । पोष्टमार्टम रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने डिएसपी पाण्डेले बताए ।
सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले घटनाको गम्भीर रुपमा अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्