२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


गरिब घरपरिवारलाई वितरण गरिने परिचयपत्र हुनेखानेको कब्जामा (भिडियो)


0
Shares

विराज रोस्यारा/ईमेज

कैलाली । गरिब घरपरिवार पहिचानका लागि वितरण गरिएको परिचयपत्रमा धनीहरुको हालिमुहाली देखिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाभित्र गरिब परिवारलाई वितरण गर्ने भनिएको परिचय पत्र लक्षित वर्गले पाउन सकेका छैनन् ।

गरिब परिवार परिचयपत्र पाउनबाट वञ्जित छन् भने सम्पन्न वर्गले भने रातो कार्ड पाएका छन् ।

सरकारले गरिबहरुको सहज पहिचान होस् भनेर गरिव परिचयपत्र वितरण गर्ने प्रावधान त ल्यायो तर धनगढी उपमहानगरपालिकामा सोही प्रावधानको दुरुपयोग भइरहेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेका अधिकांश गरिब जसले अझै पनि सो परिचयपत्र पाउन सकेका छैनन् । हुन त गरिब हुनु कसैको रहर होइन बाध्यता नै हो ।

कमजोर जीवनस्तर भएकालाई केही राहत उपलब्ध गराउने उद्देश्यले वितरित परिचयपत्र पाउनबाट वास्तविक गरिब नै वञ्चित हुनु र सम्पन्नले  पाउनुले हदैसम्मको बेथितिलाई प्रकट गरेको छ ।

चुनावको समयमा विश्वास गरेर भोट नेतालाई हालेपनि आाफूले पाएको अधिकारबाट समेत वञ्चित हुनुपर्दा गरिबका दिन कहिल्यै नआउने रहेछन् जस्तै लागेकोअर्काको घरमा काम गर्दै आएकी सुमादेवी सार्कीको गुनासो छ ।

उपमहानगरपालिकामा तथ्याङ्क सकंलन गरेका ब्यक्तिहरुको  नाम परिचय वितरण नामावलीमा नाम नै छैन । नामावली संकलनका बेला नाम दर्ता गराएपनि परिचयपत्र नपाएको धनगढी ३ कै मिना सार्की र सुन्तली साकीको दुखेसो छ ।

यी त प्रतिनिधिपात्र मात्रै हुन् यस्तो गुनासो  गर्नेहरु अरुपनि प्रशस्तै छन् । यो समस्या वडा नम्बर ३ को मात्रै होइन सम्पूर्ण उपमहानगरपालिकामै छ ।

केन्द्रीय सरकारले संकलन गरेको ५ वर्षको पुरानो तथ्यांकबाट परिचयपत्र वितरण गरिएकोले वडामा समेत अन्योलता ल्याएको वडा नं ३ का वडाध्यक्ष बलबहादुर ऐरको भनाइ छ, र यसमा वडा समेत अनविज्ञ रहेको उनले बताए ।

धनगढीमा २७ हजार घरधुरीमध्ये ५ हजार ८ सय ८५ घरधुरीलाई परिचयपत्र वितरण गर्ने सरकारको तथ्यांक छ ।

धनगढीमा २ हजार ८ सय ५८ परिवारलाई अति गरिब, १ हजार ८ सय ३७ जनालाई मध्यम र १ हजार २ सय ९० जनालाई सामान्य गरिबको श्रेणीमा राखिएको छ ।

जसमध्ये वडा नं ३ का २ सय ४४ घरपरिवारलाई मात्रै परिचय पत्र वितरण भईरहेको छ जसमा अतिविपन्न परिवार वञ्चित हुनुले यस प्रावधानकै ठूलो उपहास भएको आभाष भइरहेको छ ।