
काठमाडौं, पुस ११ । नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ ।
आज १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर पुस १६ सम्मका लागि स्थगित गरिएको हो ।
सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा एकमत हुन सकेको छैन ।
अध्यक्ष पुष्पकमल दाहालले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।
उनले नेकपा केन्द्रीय सदस्य अग्नि सापकोटाको नाममा सहमति गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्री केपी ओली भने सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् ।
सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र पम्फा भुसाल पनि छन् ।
उपसभामुख तुम्बाहाम्फेले सभामुख चलाउन आफैं सक्षम भएको बताउँदैं आएपनि उनको विषयमा नेकपाले निर्णय गर्ने सम्भावना छैन ।
उनलाई राजिनामा गराएर सभामुख चयन प्रक्रिया अगाडि बढाउन नेकपाले नै तुम्बाहाम्फेलाई राजीनामा गर्न भनिसकेको छ ।
सभामुखमा टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा राजीनामा दिने उनको तयारी थियो ।
यौन दुराचारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १८ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस्